वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ।
उपराष्ट्रपति नन्द बहादुर पुनले सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रूपमा चर्चित वरिष्ठ हाँस्य कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका हुन्।
त्यस अवसरमा उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएका योगदानको खुलेर प्रशंसा गरेका थिए।
उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रूपमा चित्रण पनि गरे।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो। स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ।