मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ को दोस्रो श्रृंखला ‘वीर विक्रम २’ को बिहीवार राजधानीका एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ ।
कार्यक्रममा मूख्य कलाकारलाई ब्यान्डबाजासहित कार्यक्रमस्थल प्रवेश गराउँदै सार्वजनिक गरिएको थियो। अघिल्लो श्रृखंलाभन्दा यसमा फरक कथा हुने जानकारी कार्यक्रममा दिइयो।
दोस्रो भागमा नाजिर दोहोरिए पनि बाँकी कलाकार परिवर्तन भएका छन् । पहिलो भागमा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन प्रमुख भूमिकामा थिए।
फिल्ममा नाजिरसँगै आकाश श्रेष्ठ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु छन् ।
फिल्ममा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए ।
बाग बहादुर थकालीको चरित्र निभाउन लागेका बुद्दि फिल्ममा भिलेनको भूमिका देखिनेछन् ।
अर्पण सापकोटा सह-निर्माता रहेको फिल्मलाई निर्देशक चाम्स आफैंले निर्माण गर्नेछन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मलाई प्रदिप भारद्वाजले लेखेका हुन्।
फिल्म कात्तिकको अन्तिम साताबाट फ्लोरमा जानेछ। फिल्म अगामी नयाँ वर्षमा रिलिज हुनेछ।