सिनेमा ‘बुलबुल’ले आफ्नो सिनेमाको पहिलो गीतका रूपमा ‘खुद्राखुद्री’ गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरेको छ।
भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ ।
निर्माण युनिटले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट बिहीबार एक साथ फ्ल्यास मोब शैलीमा गीत रिलिज गरेको हो ।
काठमान्डौ मलमा अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो टोलीसँग सो शैलीमा नाचिन्।
सिनेमामा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिनेछिन ।
निश्चल बस्नेत र रजिना रिमालको युगल स्वर रहेको छ भने गीतका रचनाकार तथा संगीतकार कोशिस क्षेत्री हुन्। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ ।
गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन् । विनोद पौडेलको निर्देशनमा तयार भएको सिनेमामा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।
विनोद पौडलकै पटकथा रहेको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको सिनेमाको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । सिनेमामा सम्पादन अनिमेष सापकोटाको रहेको छ ।
सिनेमा फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।