गण्डकी वाङ्मय प्रतिष्ठानले शनिबार विशेष कवि गोष्ठी आयोजना गरेको छ । चितवनका कवि भूपिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गण्डकी प्रदेशका साथै अन्य प्रदेशका कविहरूलाई पनि निम्त्याइएको थियो ।
सुदूरपश्चिमबाट साहित्यकार हेमन्त विवश र प्रदेश नं ३ बाट साहित्यकार दीपेन्द्रसिंह थापालाई विशेष अतिथिका रूपमा सहभागी गराइएको उक्त विशेष गोष्ठीमा काशीनाथ न्यौपाने, मधुमाया घिमिरे, शुभ पिया, लक्ष्मण तिमल्सिना, महेन्द्र रम्घाली, अन्जु दाहाल, गौकुमारी न्यौपाने, शान्ता बास्तोला, सन्देश अधिकारी, विकास बजगाईं, कल्पना पौडेल, सुनिता आचार्य, समुद्र गोदार, चक्रबहादुर अधिकारी, जानुका अश्रुधारा, दिवाकर भट्टराई, कृष्ण महत, अन्जान यात्री, धनन्जय भण्डारी, अमरराज नहर्कीलगायत कविहरूले रचना सुनाएका थिए ।
कार्यक्रमको संयोजन नारायणी अधिकारीले गरेका थिए । त्यहाँ वाचित रचनामा अध्यात्म, समाज र संस्कृतिका विषय झल्किएको थियो । केही कविले निर्मला पन्त हत्याकाण्डको सन्दर्भ समेत हृदयस्पर्शी पाराले पस्केका थिए ।
साहित्य प्रवद्र्धनमा क्रियाशिल प्रतिष्ठानले आगामी दिनमा तनहुँ क्षेत्रको ग्रामीण पर्यटन प्रबर्द्धन गर्न पर्यटन साहित्य यात्रा आयोजना गर्ने जनाएको छ । ‘हामी ग्रामीण पर्यटनका लागि छिट्टै साहित्य यात्रा गर्नेछौं’, प्रतिष्ठानका अध्यक्ष सागर उदासले भने ।