यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना पुरस्कार दुई स्रष्टालाई हस्तान्तरण गरिएको छ।
लेखक नयनराज पाण्डेलाई कृति ‘यार’ बाट पद्मश्री र लामो समयदेखि नेपाली भाषा साहित्यमा अमूल्य योगदान पुर्याएका तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको हो।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्छ।
विसं २०६३ देखि वर्षभरि प्रकाशित पुस्तकमध्ये विशिष्ट कृतिलाई र २०६७ सालदेखि साहित्य, कलामा दीर्घ साधना गरेका साधकलाई प्रतिष्ठानले सम्मान गर्दै आएको छ। दुवै पुरस्कारको राशि दुई/दुई लाख रुपैयाँ रहेको छ।
पुरस्कृत भएपश्चात शर्माले पद्मश्री साधना सम्मानले थप उर्जा थपिएको उल्लेख गरे।
‘उमेरले बढ्दै गएपछि लेखनमा उत्साह घट्दो रहेछ। आलस्यले सताउँदो रहेछ,’ ८० कटेका उनले भने, ‘पाठकहरूको प्रेरणाले भने लेखनमा प्रोत्साहन बढाएको छ।’
त्यस्तै, पद्मश्री साहित्य पुरस्कार पाएका पाण्डेले इमान्दार र जिम्मेवार भएर लेखेको कृति सम्मानित भएको क्षण लेखकको जीवनको सुखद् क्षण भएको उल्लेख गरे।