सिरानी उनलाई आमाको काख जस्तै लाग्छ। सिरानी सम्झँदा उनी आमालाई नै सम्झन्छन्। यसैले करिब १० महिनाअघि बितेकी उनै आमाको सम्झनामा मनीषलाल श्रेष्ठले काठमाडौं बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘सिरानीः दि हेडरेस्ट’ शीर्षकमा प्रदर्शनी गरेका छन्।
‘जीवन विविध भावनाहरूको एकीकृत रूप हो,’ यो भनाइलाई मनीषलाल श्रेष्ठले आफ्नो पेन्टिङमा देखाएका छन्। भन्छन्, ‘यी पेन्टिङ नै मेरो आमाको लागि श्रद्धाञ्जली हो।’
उनका पेन्टिङ ‘पेन एण्ड इंक’ बाट तयार पारिएका छन्। यसमा कालो रङको प्रयोग छ जसलाई नेपाली समाज अशुभ मान्छ। आमा बितेपछि मनीषलाई केही पनि शुभ लागेन। सामाजिक, व्यक्तिगत र रुढीवादी चलन पनि उनलाई बेकारको लाग्यो। केवल मानसिक र शारीरिक दबाब।
‘आमाको मृत्युपछि समाजले हरेक कार्यमा रोक लगाउन थाल्यो’, मनीषले भने, ‘कपाल खौरनुपर्ने, छुन नहुने, खान नहुने, विभिन्न संस्कृति मान्नुपर्ने। पीडितमाथि झनै पीडा। समाजले बनाएको दायित्वहरू पूरा गर्ने क्रममा मैले धेरै मनोवैज्ञानिक र भावनात्मक दबाबको सामना गनुपर्यो।’
आमाको मृत्युपछि सबै कुरा उनलाई बेरङको लाग्न थालेको छ। यसैले एक वर्ष उनी आफ्नो कलामा रङको प्रयोग गर्ने छैनन्। यो प्रदर्शनी त्यसैको प्रतिरूप हुन्।
सिरानीलाई आमाको न्यानो काखको रूपमा लिएका मनीषले प्रदर्शनीमा स–साना १०८ वटा सिरानी पनि डोरीमा झुन्डाएका छन्। त्यसमा डिजिटल प्रिन्टिङ गरिएको छ। जसमा मुन्डन टाउको भएको मानिसले आँखा खोलेको र चिम्लेको भाव छ।
‘यसले आमाको काखमा बितेको दिन र रातको संकेत गर्छ’, उनले भने, ‘जसरी आँखा खुल्दा दिन हुन्छ। आँखा बन्द हुँदा रात।’
सिरानीमा विभिन्न रङका पिनहरू टाउकोको भिन्नभिन्न भागमा खोपेको पाइन्छ। मनीषको अनुसार ती पिनहरू समाजले दिएका अनेकौं दबाब हुन्। जसले उनलाई हरेक समय घोचिरहेको हुन्छ।
झुन्डाएर राखेको सिरानीको छेउमा ‘पेन एण्ड इकं’ स्केचहरू देखिन्छन्। मुण्डन गरिएका टाउकोलाई ऊनीका डोरीले बेरिएको छ। गल्बन्दी जस्ता लाग्ने यी ऊनीका डोरीलाई १ हजार ३ सय ३६ मिटर बुन्न लगाएर अघिल्लो वर्ष उनले ‘प्रेजेक्ट १३३६’ गरेका थिए।
अर्थपूर्ण यो स्केचका डोरीले टाउकोलाई सुरक्षा दिएका छन्। त्यसैको पल्लो भित्तामा झुन्डाएको क्यान्भासमा टाउकोमा हेल्मेट लगाएको देखिन्छ। मनीष भन्छन्, ‘सिरानी जसरी हेल्मेटले पनि आमाको काख जसरी नै सुरक्षा गरिरहेको हुन्छ।’
त्योसँगै अर्का दुई कला पनि अर्थपूर्ण लाग्छन्। एउटाको दायाँ र अर्कोको बायाँ आँखा कालो र सेतो वस्तुले छोपिएका छन्। लाग्छ, सामाजिक बन्देजमा हामी राम्रो र नराम्रो के हो पनि छुट्याउन सकिरहेका हुँदैनौं।
मनीषसँगै विधाता केसीको कला पनि प्रदर्शनीमा छ। उनले ‘सिफ्टिङ भ्यालुजः एक्सपेक्टेसन भर्सेस रियालिटी’ मा मुस्ताङको कला एवं संस्कृतिलाई झल्काउने प्रयास गरेकी छन्।
उनी २०१४ सालमा मुस्ताङ पुग्दा तिजी चाड रहेछ। त्यही चाडको झल्को दिने उनले दुई छाता बनाएकी छन् जसको रङ गुलाबी छ। पहिले राजासमेत छाता ओडेर उक्त पर्व हेर्न आउने रहेछन्। त्यसैको मैलिकता झल्काउने बुट्टेदार परम्परागत छाता बनाएकी छन्। छातालाई अर्को पूरै गुलाबी छाताले छोपेकी छन्।
‘यसले नेपाली समाज कसरी आधुनिकतातिर उन्मुख भइरहेको छ भन्ने संकेत गर्छ,’ विधाताले भनिन्। उनले मुस्ताङ झल्काउने ढुंगाका भित्ताहरू पनि पेन्टिङमा उतारेकी छन्।’
यदि यी भित्ताहरूमा ढुंगाको ठाउँमा सिमेन्ट प्रयोग हुने हो भने के मुस्ताङको मौलिकता जोगिएला?’ उनले प्रश्न पनि गरेकी छन्।
यी प्रर्दशनी कात्तिक १८ गतेसम्म चल्नेछ।