कथाकार शुषमा मानन्धरको लघुकथा संग्रह ‘अनावरण’ शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
२४ कथाहरुको संगालो ‘अनावरण’लाई ६ जना स्रष्टा तथा लेखकहरुले संयुक्त रुपमा लोकार्पण गरे।
पेन नेपालद्वारा आयोजित लोकार्पण समारोहमा हाँस्य विधाका साहित्यकार रामकुमार पाण्डे, बालकथाकार विनय कसजु, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र कथा संग्रह ‘अनावरण’का सर्जक शुषमा मानन्धरले संयुक्तरूपमा लोकार्पण गरेका थिए।
कार्यक्रममा समालोचक दामोदर पुडासैनीले अनावरण कथा संहग्रहले काठमाडौं उपत्यकाको आञ्चलिकता चित्रण गरेको उल्लेख गरे । उनले भने, ‘यो कृतिले समसामयिक परिवेश, नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसहरुको मनोविश्लेषण पनि गरेको छ ।’
कथासंग्रहबारे बोल्दै कथाकार मानन्धरले आफ्नै परिवेश, आफ्नै भोगाई र जानकारीका आधारमा कथाहरु सिर्जना गरेको जानकारी दिइन् । उनले अनावरणका कथाहरुमा वास्तविक पात्र र विवरणहरु प्रतिबिम्बित भएको उल्लेख गरिन् ।
लेखकहरुको अन्तर्राष्ट्रिय संगठन पेन इन्टरनेसनलको सम्मेलनमा सहभागी भएकाहरुले सो अवसरमा आफ्नो अनुभव आदानप्रदान पनि गरे ।
भारतको पुनामा हालै सम्पन्न पेन इन्टरनेसलनमा सहभागी भएका पेन नेपालका महासचिव प्रकाश ए राज, सदस्य कोमल चित्रकारले आफ्ना अनुभवहरु सुनाएका थिए ।
कार्यक्रममा स्वीट्जरल्याण्ड पेनका सचिव एलिक्स प्यारोडीले आफ्नो नेपाल भ्रमण, आफ्नो मुलुकको सन्दर्भ, महिला सर्जक आदिबारे चर्चा गरिन् ।