प्राचीन बौद्ध सम्पदाको आँगनमा बारम्बार शान्ति र सुरक्षा माग गर्दै लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट शनिबार सम्पन्न भएको छ।
स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण। ब्याण्डले यो कार्यक्रम त्यसैको निम्ति समर्पित गरेको छ। स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकसमेत पारेर राजधानीवासीसँग खुशी साट्ने मौकासमेत यो कार्यक्रम बनेको छ।
नेपथ्यका अघिल्ला कन्सर्टहरुमा भन्दा यसपाला बेग्लै सुरुवात भएको थियो। ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट नभई स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरु भएको थियो।
मञ्चमा चढेका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिएका थिए। मञ्च वरपरका विशाल ‘डिस्प्ले बोर्ड’ हरुमा गीतका शब्द बग्न थाले –
‘जीवन हो घाम छाया
सुख दुःख दुवै हुन्छ
जीवन हो बिना माया
छटपटी तडपन हुन्छ’
दर्शकले तिनै लाइनलाई समातेर गाउँदा गाउँदै बीचतिर बल्ल अमृत मञ्चमा देखापरे। त्यतिन्जेल अर्को लाइन सुरु गर्न स्वयम्भूकै स्थानीय तथा नेपथ्यका पुराना सदस्य ध्रुव लामाले ड्रमसेटको प्रभावकारी आवाज छरिसकेका थिए। हजारौंको संख्यामा उपस्थित दर्शकले चर्को आवाजमा स्वागत गरेपछि बाँकी गीत अमृत र दर्शक मिलेर गाए।
कार्यक्रम प्रस्तुत गर्दागर्दै अमृतले बारमबार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिन सम्झना गरे। ‘हामीले यहाँ कोठा भाडा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले बिगत सम्झे, ‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजना बुन्थ्यौं।’
त्योबेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको कारण पनि उनले खुलाए।
‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ र वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्झदै ‘मै मरि जाऊँला’ जस्ता गीतहरु सुनाएपछि अमृतले फेरि पुराना दिनको सम्झनामा दर्शकलाई लगे। उनी विशेष गरेर ध्रुवजस्ता साथी ब्याण्डलाई दिएकामा स्वयम्भूप्रति कृतज्ञता प्रकट गर्न चाहन्थे।
‘ध्रुवले हामीसँग काम गर्न थालेको २० वर्ष नाघेको छ,’ अमृतले भने, ‘यसरी नेपथ्यलाई यहाँसम्म ल्याउन स्वयम्भूको थप योगदान छ।’
त्यसपछि नेपथ्यको २५ वर्षे यात्रा र यसबीच आफूले पाएका अनि गुमाएका साथीको दृश्यसमेत देखाएर अमृतले ब्याण्डकै पहिलो गीत सुनाए –
‘आँगनै भरि हिउँ नै झरे’
फेरि दर्शकलाई २५ वर्षपछिको नेपथ्यकालमा तान्दै उनले भर्खरै धौलागिरि क्षेत्रमा पदयात्रा गर्दै तयार पारेको गीत सुनाए–
‘शिरफूल शिरैमा, वनफूल वनैमा
हिउँको फूल धौलागिरिमा’

‘नेपालमा छोरीचेलीको जीवन दुश्कर हुँदै गइरहेको छ। हाम्रा छोरीहरुको सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ,’ हजारौं तन्नेरी, थुप्रै भिक्षुहरु र पूर्वप्रधानमन्त्री लगायतका महत्वपूर्ण व्यक्तित्वको उपस्थितिले खाँदिएको भुइँखेल चौरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आव्हान गरे, ‘आउनुस्, स्वयम्भूको यो आँगनबाट उनीहरुका निम्ति मध्यरातमा पनि निर्धक्क हिँड्नसक्ने मुलुक बनाएरै छाड्ने प्रण गरौं। यो बुद्धले संसारभरि शान्ति छरेको मुलुक हो भनेर फेरि आव्हान गरौं।’
उनले स्वयम्भूमा नेपथ्यको कन्सर्ट गर्ने लामो समयदेखिको धोको बल्ल पूरा भएकोमा खुशी समेत प्रकट गरेका थिए।
त्यसपछि फेरि नेपथ्यका सर्वकालीक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्यो शिशैको गोलीले’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’ र ‘हो रामा रामा’ जस्ता गीतले दर्शकलाई उफारेको थियो ।
त्यसपछिको चरणमा ‘हामी नेपाली’ ले जगाएको राष्ट्रिय भावनाका गीतहरुले ‘गाउँगाउँबाट उठ’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म निरन्तरता पाएको थियो।
यही चरणमै नेपथ्यका प्रशंसकलाई सबभन्दा धेरै नचाउँदै आएको ‘हिमाल चुचुरे’, ‘कोशीको पानी’, ‘रेशम’, ‘मै नाचेँ छमछमी’ हुँदै ‘तालको पानी’ सम्मले निरन्तरता पाएको थियो।
‘यतिबेला अधिकारको मागसँगै चर्किएको जातीय नाराले हाम्रो समाजलाई अप्ठ्यारो अवस्थातिर लगिरहेको छ,’ अमृतले कार्यक्रमको अन्त्यतिर ब्याण्डका साथीहरुको परिचय गराउँदै भने, ‘आउनुस् हामी विविधताका बीचमा एकताको स्वरलाई चर्काऔं।’
उनलाई सँधैझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
स्वयम्भूका तन्नेरीहरुको साझा थलो ‘स्वयम्भू क्लब’ को निमन्त्रणामा कार्यक्रम आयोजित भएको थियो।