उनको भूमिका फरक छ, फरक भूमिका भए पनि प्रत्येक भूमिका अनुसारको प्रस्तुतिमा प्रभाव उस्तै छ । हिजो दिउँसोको दुई घण्टा साँस्कृतिक संस्थान, जमलको मिनी हलमा उनका शशक्त कविता र बेजोड प्रस्तुति शैलीले दर्शक स्रोतालाई रूझाइरह्यो, ठीक त्यति नै बेला बाहिर बेजोडको पानीले सडक र यात्रुलाई निथ्रुक्क पारिरहेको थियो।
उनी हुन् कवि अनिता लामा। साँस्कृतिक संस्थानको हरेक महिना हुने स्रष्टा र सृजनाको नियमित श्रृङ्खलामा यसपटक कवि अनिता लामालाई उभ्याएको थियो। उनले प्रस्तूतिको शुरुमै आमा बुबालाई सम्मान स्वरूप वाचन गरिन् सलाम आदरणीय आमा बुबा।
एक त्यान्द्रो टालोमा बेरिएको
आफ्नै रगत मासुको एक ढिको प्राण
सलबलाहट भैरहँदा
तिम्रो मुटुको कम्पन
बेतोडले आल्हादित भयो होला
प्रसव र मातृत्वले
तिम्रो यौवनको स्वरूप
थप सुन्दर र स्वस्थ देखियो होला
किनभने म जन्मिँदा
तिमी दम्पत्ति दुई
आमा र बुबा भयौ।
त्यसपछि उनको अर्को बेजोड कविता थियो स्वस्थानी साङ्गे। धर्मका नाममा नारीहरुले आफ्ना पतिका लागि गर्ने कठीन तीर्थब्रत र पूजापाठ तर जति गरे पनि भोग्नुपरेको पीडाको स्थितिलाई हिन्दु धर्ममा चर्चित स्वस्थानी ब्रत कथाका मिथ्थकलाई असाध्यै सुन्दर लेपनका साथ सचेत गराईएको छ यस कवितामा –
आज तिनले
अष्टोतरसय रोटी पकाई
बेलीपुष्प, अक्षता दुबो छुट्याई
गणेशथानको लड्डु लिएर
तसलामा लुकाई
बालुवाको शिवलिङ्ग ठड्याई
धुप,दिप, प्रसादी, बस्त्र चढाई
स्वस्थानी महिमा गाउँदै घण्ट बजाई
आज स्वस्थानी साङ्गे
आँखा चिम्लेर ध्यानमग्न बनाई
तब प्रकट भयो हरिहर
सुनौलो तसला फोडेर
निस्कियो बरदान –
प्रापकः सुनकेसरी
प्रेषकः मलेसिया दूतावास
मृतकको नामः हरिहर !
सकियो स्वस्थानी साङ्गे
सकियो हरिहरको पनि साङ्गे !!
त्यस्तै अर्को बलशाली कविता मधेस समुदायभित्रका एक गरिब किसोरीलाई ‘मुसुरीया’ नाम दिएर चरित्रभित्र थप चरित्र निर्माण गर्दै काव्यात्मक शैलीमा यस कविताको सन्देश असाध्यै मनमोहक थियो।
त्यस्तै डाक्टरहरूको सन्दर्भमा उनको एउटा सत्यतथ्य कविता थियो तर समसामयिक बहसका रूपमा अहिले उठीरहेको चिकित्सक आन्दोलनसँग पनि सन्दर्भ मिलाउँदै उनले प्रस्तुत गरिन् ‘डाक्टरहरू’ शीर्षकमा यी कविता –
गरिब, धनी, साहु सामन्त
कुनै स्वरूपमा विभक्त हुँदैनन्
यिनको सेवा र कर्म ।
सेतो निश्छल क्रान्ति गर्न
यिनी कुनै समय पनि वर्जित छैनन्
यिनलाई कुनै झण्डा, तुल, ब्यानर
डण्डा र नारा जुलुशको जरूरत छैन
यिनको आन्दोलन स्वस्फूर्त चलिरहन्छ
जीवनदायी यिनको क्रान्ति
सफेद रंगमा बहिरहन्छ
वाह डाक्टरहरू !
त्यसपछि उनले संयुक्तता र संकल्पः सपना र ऊर्जा सजाउने कविता मार्फत हिजोको आन्दोलनको समय र आजको उपलब्धीमा भुलेका संकल्पहरूलाई ज्यूँदोजाग्दो हुनेगरि सम्झेका छन्।
बिर्ख बहादुर माझी शीर्षकको कविता मार्फत समृद्धिका सपनालाई साकार पार्न सबैभन्दा पहिले गर्नुपर्ने जनताको आधारभूत तहका आवश्यकताहरूलाई औंल्याएका छन् भने पाठेघर शीर्षकका कविताबाट बलात्कार विरूद्धको सचेतना, नारी अस्मिता र चेतनाको मिहीन आवाजलाई प्रष्ट उठाएका छन्।
अर्को शशक्त कविता भिडियो कल मार्फत परदेशिएका नेपाली दाजुभाइहरुलाई घरपरिवारको ऋण, परिवारसँगको विछोडको वियोग भुलाउन भिडियो कल गरिँदा देखाउने ठूला ठूला चौंडा सडक, समुन्द्र र आकाश भेद्ने टावरहरूको दृश्यलाई उनले कवितामा अत्यन्तै सरलताका साथ प्रयोग गरेका छन् र त्यहाँ गर्ने मेहेनत परिश्रम आफ्नै देशमा फर्केर गर्न भनेका छन्-
कान्छा ! नदेखाऊ मलाई
अट्तैन यो स्क्रिनमा विशाल समुन्द्र
देश, परिवार, रहनसहन टाढिएको झोंकमा
हामी हाँसेको देख्न
तिमीले हाँसेको ख्याउटे हाँसो म बुझ्छु
एक झुल्को नै सही
तिमी नै देख्न पाइरहोस् भन्ने आव्हानमा
त्यो आकाश भेद्ने टावरको हैकम हेर्नुछैन मलाई
त्यसैले
नदेखाऊ टावर, ब्रिज, क्लब, सडकका अनुशासन
अव्यवस्था, अविकास र अस्तव्यस्त नै सही
यहाँको माटो, पानीले दिने माया
कम्तिमा कलुषित र कुपोषित छैन ।
हड्डी घोटेर सपना टुङ्गीदैन
आऊ हामी टुङ्गीने आयुको कुरा गरौं
सबैको दिर्घायुको कुरा गरौं ।
आऊ ! तिमी जस्तै अधुरो सपनामा
घोत्लिएको देशको कुरा गरौं
तिम्रो, मेरो र देशको
साझा सपनाको कुरा गरौं ।
हाम्रा यी कुराहरू पूरा गर्ने कुरा गरौं ।
यसरी अनिताले विद्यार्थी, आउ बरूलास बनौं, गिज्याउनेहरूका लागि हानिकारक छ कविता र केही छोटा कविताहरू गरि आफ्ना एक दर्जन कविता सुनाइरहँदा हलको दर्शक श्रोता दीर्घामा विभिन्न प्रतिष्ठानका प्राज्ञज्यूहरू, प्रमुख अतिथिको रूपमा साहित्यकार प्रदिप नेपाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, सांसदहरू र थुप्रै साहित्यानुरागीको उपस्थिति थियो।
अनिताको व्यक्तित्व चर्चामा पूर्व सभासद् तथा स्रष्टा मधु गुरूङ्ग एवं साहित्यकार बासुदेव अधिकारीले एक संस्कृतिकर्मी, राजनीतिक आदर्श बोकेका एक नेता, मानवीय आदर्शयुक्त एक अभियन्ताको रूपमा बहुआयामिक व्यक्तित्व भएको बताए।
अनिताको कवितामा मानवीय चेत, वर्गीय चेतना, मानवीय आत्मीयता, देशभक्ति र हार्दिकताको प्रसङ्ग रहेको समीक्षक रमेश शुभेच्छुकले व्यक्त गरे।
‘अब संघीयता र यसको व्यवस्थापनका विषयमा सबै लेखकहरूको कलम चल्नुपर्छ । यी आजका कविता र तिम्रो अहिलेसम्मको भूमिकाले पनि अब तिम्रो कलम यतातिर लाग्नुपर्छ र तिमीले गर्छौ छोरी,’ प्रमुख अतिथिको आसनबाट प्रदिप नेपालले भने।
कार्यक्रमको अध्यक्षता राम विनयले गरेका थिए भने स्वागत साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गरेका थिए। कविता वाचनमा कवि फूलमान बल तथा रंगकर्मी तथा भर्खरै सगरमाथाको सफल आरोहण गरेका युवा वैज्ञानिक रोजिता बुद्धाचार्यले सहयोग गरेका थिए ।