‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा बनेको उक्त सिनेमाको छायांकन अमेरिकाको लस–एन्जल्ससहित काठमाडौंमा गरिएको हो ।
आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा सिनेमाको ट्रेलर–पोस्टर लन्च गरिएको थियो । सार्वजनिक पोस्टरमा सिनेमाका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ ।
क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले केही स्टुडियोसँग सिनेमा रिलिजबारे छलफल भैरहेको जानकारी दिएका छन् । उनले हलिउड, बलिउड र नेपालमा एकैसाथ सिनेमा रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए ।
नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको भनाइ छ । सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
सिनेमाले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।
‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’ ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।
सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।