कथाकार दिनमान गुर्मछान आफ्नो पहिलो कथासंग्रह ‘दंश’ लिएर बजारमा आएका छन्।
शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा प्रा.डा अभि सुवेदी, लेखक नवीन विभास र समालोचक बन्दना ढकालले ‘दंश’ सार्वजनिक गरेका हुन्।
कथासंग्रह सार्वजनिक गर्दै प्रा.डा सुवेदीले संग्रहभित्र वास्तविक नेपाली समाजको अनुहार देखिएको बताए।
‘कथाले सबै पक्षलाई छोएको छ। सबै किसिमका स्वाद दिनमानका कथामा भेट्न सकिन्छन्,’ सुवेदीले भने।
यस्तै कार्यक्रमका अर्का वक्ता कथाकार नवीन विभासले जटिल कुराहरूलाई पनि कथामा सरल भाषामा लेख्न सक्नु कथाकारको खुबी भएको बताए भने समालोचक बन्दना ढकालले ‘दंश’ भित्रका कथाहरूले नेपाली समाजमा रहेका नारीहरूले भोगका पीडा र वेदनाको चित्रण गरेको बताइन्।
‘शाब्दिक बुक्स’ले प्रकाशन गरेको यस कथासंग्रहभित्र डेढ दर्जन कथाहरू समावेश छन्।