‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मूख्य अभिनेता अनमोल केसीलाई फिल्ममा रहेको फुटबल खेलाडी लुक्समा देखाइएको छ ।
पोस्टरमा उनलाई बल हान्दै गरेको देख्न सकिन्छ । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट गरेका हुन् । पोस्टरको ब्याकग्राउण्डमा अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।
जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ ।
गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा सिनेमा ‘क्याप्टेन’ ले बोल्छ । यसअघि तिहारमा रेखा थापा निर्मित तथा निर्देशित 'मालिका'सँगै रिलिज हुने चर्चा चलेपनि सिनेमाको आधिकारिक पोस्टरमा प्रदर्शन घोषणा गरिएको छैन ।
भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्नेछन्। फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभी अनमोलको जोडी बनेका छन् ।
‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।
‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।
