एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले यही भदौ २ गते शनिबार पोखरामा ‘फाइनप्रिन्ट फिभर’ गर्दैछ।
यो कार्यक्रम पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टको सहकार्यमा हुन लागेको आयोजक फाइनप्रिन्टले जनाएको छ।
२०७५ को सुरुआतसँगै सुरु घुम्ती साहित्य उत्सव यसअघि सुर्खेत, धनगढी र कोहलपुरमा भएको थियो। यसको उद्देश्य पठन संस्कृति प्रवर्द्धन, लेखक र पाठकबीच आत्मीयता बढाउनु रहेको आयोजक संस्थाले जनाएको छ।
उत्सवमा फाइनप्रिन्टले २०७४ मा छापेका ‘महको म’ का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’ का हरिबहादुर थापा, ‘माङगेना’ का युग पाठक, ‘काठमाडौंमा एक दिन’ का शिवानी सिंह थारु, ‘यार’ का नयनराज पाण्डेसहित अमर न्यौपाने तथा केही स्थानीय लेखक सहभागी हुनेछन्।
कार्यक्रम बिहान ११ देखि बेलुकी ५ बजेसम्म चल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।
फाइनप्रिन्ट फिभरको समापनलगत्तै ‘अ कन्भर्ससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नामक कार्यक्रम हुनेछ। सशुल्क हुने यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ। श्रेष्ठ र कन्दरा ब्यान्डले आफ्ना केही कालजयी गीत प्रस्तुत गर्नेछन्।
‘फाइनप्रिन्ट फिभरजस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गर्छ,’ उत्सवमा सहभागी हुने लेखिका शिवानी सिंह थारुले भनिन्, ‘हामी लेखकले हाम्रा सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउँछौं। पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउँछन्, जसले साहित्यलाई समृद्ध बनाउँछ।’