कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ।
दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो दुइ ठाउँबीचको दुरीलाई अर्थ्याउँदै गौतमले पुर्याएका योगदानको चर्चा गरेका थिए। कार्यक्रममा गौतमलाई उतिबेलाको गुल्मीवासी, संयुक्त राष्ट्रसंघको उच्च ओहदामा आसिन कर्मचारीदेखि लिएर काठमाडौंमा नागरिकसमाजको अगुवाका रुपमा चिन्ने व्यक्तित्वहरुको होटल हिमालयमा बाक्लो उपस्थिति थियो। वक्ताहरु पनि यी तीनवटै ठाउँको प्रतिनिधित्व गर्थे।
‘पुस्तक पढ्दा महिला तथा वालवालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको नेपालका लागि अवकाशपछि पनि उत्तिकै सक्रिय गौतमको अनुभव र अठोट अत्यन्त उपयोगी छ।’ ज्ञवालीले गौतमको बेलाको गुल्मी र अहिलेको गुल्मीमा धेरै अन्तर आइसकेको भए पनि अहिले पनि धेरै केटाकेटीहरु स्कुलभन्दा बाहिरै रहनुलाई साझा चुनौतीका रुपमा उल्लेख गरे।
कार्यक्रमका अर्का वक्ता मन्त्री गोकर्ण विष्टले भने, ‘त्योबेलाको गुल्मीबाट उठेर आफू सँगसँगै आफ्नो ठाउँलाई पनि माथि उठाउन खोज्ने गौतम मेरो निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ। उहाँले सिँगो विश्वलाई जे जति योगदान दिनुभयो त्यसका निम्ति आज गाउँलेका तर्फबाट धन्यवाद दिन म उपस्थित भएको छु।’
लेखक गौतमले पुस्तकको प्रारम्भमा उनको वाल्यकालीन गुल्मी उतारेका छन् जहाँ वरपरसम्म स्कुल थिएन। त्यो गुल्मी जहाँ अत्यन्त रुढीवादी धार्मिक परिवेशमा एकातिर मानिसहरु भूतप्रेतदेखि भाग्यका कुरा गर्थे भने गुरुकुलमा पढ्ने वालक गौतम चाहिँ धर्मग्रन्थका भित्री गुदीहरु बुझ्ने जिज्ञासा बोकेर उनका गुरुलाई प्रश्न गरिरहन्थे। यसरी त्योबेलाको दुर्गम गाउँबाट उठेका गौतम कालान्तरमा संयुक्त राष्ट्रसंघको सहायक महाचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ)को उप–कार्यकारी निर्देशकसम्म बने।
‘गौतमले राष्ट्रसंघको मुख्यालयमा मात्र नभएर विश्वका धेरै मुलुकमा महत्वपूर्ण जिम्मेवारीका साथ खटिनुभएको थियो,’ कार्यक्रममा उपस्थित अर्का वक्ता एवं राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भेलेरी जुलियान्डले भनिन्, ‘हामीलाई सुनाउनका निम्ति उहाँसँग धेरै अनुभव छन् जुन यस पुस्तकमा पाउन सकिन्छ।’
‘यो पुस्तक भित्र एउटा मात्र होइन अनेकानेक पुस्तकहरु छन्,’ मुलुक भित्र राजनीतिक विकासक्रममा थुप्रै महत्वपूर्ण जिम्मेवारी सम्हालेका स्वतन्त्र विश्लेषक निलाम्बर आचार्यले भने, ‘जस्तै अवरोधलाई पनि छिचोलेर परिवर्तन ल्याउने मानिसको साहस र उपलव्धी यसमा अटाएका छन्।’
कार्यक्रममा बोल्दै लेखक गौतमले आफ्नो पुस्तक विशेषगरी युवा पुस्ताका निम्ति उपयोगी बन्नसक्ने उल्लेख गरे। ‘पुस्तकको पछिल्लो तीन अध्याय मेरो जीवनको अनुभवमा उभिएको छ,’ गौतमले भने, ‘नेपालका तन्नेरीहरुलाई निराश बनाइरहेको अहिलेको परिस्थितिमा यी अनुभवहरुले बाधा अवरोध चिर्न सघाइदियो भने म यो पुस्तक सफल भएको ठान्नेछु।’
पुस्तकको विक्रीबाट उठेको पैसा नेपालका छोरीहरुको शिक्षामा खर्च गरिने घोषणा पनि गौतमले समारोहमा गरे।
यो किताब मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलका साथै किन्डल तथा अमेजन लगायतमा पनि उपलब्ध गराइने पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए।