भदौ २२ मा रिलिज हुने प्रदिप खड्का स्टारर 'रोजी'को पहिलो गीत सोमबार सार्वजनिक गरिएको छ।
फिल्मको ‘फूल हैन...’ बोलको गीत रिलिज गरिएको हो। गीतमा प्रदीप खड्का र मिरुना मगरलाई टर्कीका पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ ।
ब्याकग्राउन्ड स्कोरर समेत रहेका एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
‘वेस्टर्न र नेपाली टोनलाई गीतमा मिश्रण गरेको छु’ गीत रचनाबारे संगीतकार कार्कीले भने, ‘रोमान्टिक र लभस्टोरी मुडअनुसारको लोकेसनले गीतलाई अझै दर्शनीय तुल्याएको छ ।’ उनले नेपाली चार्टबस्टरमा ‘फूल हैन...’ गीत प्रिय बन्ने विश्वास लिए ।
क्राइम थ्रीलर र रोमान्टिक जनरा फिल्मका निर्देशक नीरक पौडेल हुन् ।
अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् ।