महेश शमसेर राणाको तेस्रो कृति ‘महागुरू’ सार्वजनिक भएको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच श्री कालभैरव भगवानसँग लेखक आफैंले गरेको वार्ता शैलीमा लेखिएको धार्मिक पुस्तक सार्वजनिक गरेका हुन्।
पूर्ण रूपमा धार्मिक (तान्त्रिक) प्रक्रियाले भएको कार्यक्रममा डा. धरर्वेश चन्द्र रेग्मीको सितार भैरव अनुष्ठानबाट सुरू भएको थियो। कार्यक्रममा महागुरू पुस्तकलाई भैरवको अनुष्ठान र पूजा गरेर श्री कालभैरवको प्रतिकका रूपमा पुस्तक सार्वजनिक गरिएको हो।
एबीसी टेलिभिजनमा कर्पोरेट आइकन कार्यक्रम सञ्चालकसमेत रहेका राणाले आफूलाई पुस्तकको संयोजकका रुपमा परिचित गराएका छन्। उनले पुस्तकलाई श्री कालभैरवसँग संवार्ता भनेका छन्। राणा एबीसीका सिइओ पनि हुन्।

कार्यक्रममा बैकिङ, उद्योग, व्यवसाय, वित्तिय क्षेत्र, विज्ञापन आदि विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो।
‘यो पुस्तक एउटा धार्मिक साहित्य हो। यसमा श्री महागुरू काल भैरवसँगको संवाद, काल भैरव यन्त्र साधनालगायतका कुराहरू समेटिएका छन्,’ राणाले भने,‘श्री कालभैरव भगवानसँग लेखक आफैँले गरेको वार्तालाप यस पुस्तकमा लेखिएको छ। मैले त पुस्तकको संयोजन मात्र गरेको हुँ।’
तन्त्रालयका अध्यक्षसमेत रहेका राणाले यसअघि ‘एकादेशको कथा’ नामक लोक दन्त्य कथा र ‘तिम्रो आगमनले मेरो जिवनमा..’ गीत गजल कविता संग्रह प्रकाशन गरिसकेका छन्। यो पुस्तकलाई पिनाकल पब्लिकेसन प्रा.लिले बजारमा ल्याएको छ। यसको बजार मूल्य ५०० रूपैयाँ राखिएको छ।



.jpg)