११ वर्षीया बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत सार्वजनिक भएको छ।
गीतकार रमेश अधिकारीले रचना गरेको ‘माथि माथि हिउँचूली...’ बोलको गीत शुक्रबार युट्यूबमार्फत् सार्वजनिक गरिएको हो। गीतमा चक्रपाणि तिमल्सिनाको संगीत छ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत् गीतको रिलिज भएको जानकारी गराँउदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन प्रतिभाले उनलाई विश्वास नै गर्न नसकिने गरी आश्चर्य चकित तुल्याएको बताएका छन्। समृद्धि संगीतकार चक्रपाणि तिमल्सिनाका छोरी हुन्।
सानैदेखि गीत गाउनमा रूची राख्ने समृद्धिले विद्यालयस्तरमा हुने गायन प्रतियोगितामा सधैं अग्रस्थानमा रहने उनकी आमा बबिता खनाल बताउँछिन्। राष्ट्र प्रेमको भाव बोकेको यो गीत सरल र मिठो लयमा रहेको छ।
समृद्धिलाई उनका बाबु चक्रपाणि तिमल्सिनाले रेकर्डिङ स्टुडियोमा लिएर आउँदा यो गीत उनले यति सहज ढंगबाट गाउन सक्छिन् भन्ने आफूहरूले अपेक्षा नै नगरेको संगीत संयोजक राजु खड्का र डिजिटल काठमाडौंका सञ्चालक डिका गुरूङ बताउँछन्।
समृद्धि चितवनको स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनी अध्ययनमा पनि उत्तिकै अब्बल रहेकी खनाल बताउँछिन्।