नागार्जुन नगरपालिकाको क्यापिटलहिल सेकेन्डरी स्कुलले 'बालबालिकासँग लेखक' कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा नियात्राकार गीता रेग्मीले आफ्नो लेखन यात्राबारे बालबालिकालाई जानकारी गराएकी थिइन्। आफ्नै वरपरको वातावरणकै विविध परिवेशका बारेमा नियात्रामा चित्रण गर्न सकिने उनले बताइन्।
उनका परिचय, पुस्तान्तर, ज्योतिका युगीन स्वरहरु, पश्चिमाहरुको देशमा, पत्थरै पत्थर जस्ता कृति प्रकाशित छन्। हाल उनी नियात्रा लेखनमा सक्रिय छिन्।
विद्यालयका संस्थापक शम्भुराज शर्माले विद्यार्थीलाई आफ्ना लेखकबारे जानकारी दिन यस्तो कार्यक्रम गरेको बताए। आफ्ना पाठ्यपुस्तकका लेखक र उनीहरुको धारणा विद्यार्थीलाई थाहा हुनु पर्नेमा उनले जोड दिए।
विद्यार्थीलाई पाठ्यपुस्तकका अलावा यस्ता कार्यक्रमले सिकाइ प्रक्रियामा सहज बनाउने प्रिन्सिपल इन्दिरा घिमिरेले बताइन्। विद्यालयले अतिरिक्त क्रियाकलाप बालविकासका लागि यस्ता कार्यक्रममा जोड दिइरहेको उनको भनाइ थियो।
सम्बन्धित विषयका विशेषज्ञले अनुभव साटासाट गर्दा विद्यार्थीमा नयाँ ऊर्जा थपिने सहायक प्रिन्सिपल अमरदीप भट्टराईले बताए।
कार्यक्रममा गीता रेग्मीले साहित्यले समाजको दिशानिर्देश गर्ने भएकाले समाज बुझ्न र परिवर्तन गर्न आफ्नो भाषाको साहित्यको अध्ययन गर्न पर्नेमा जोड दिइन्। साहित्य केही नभएर आफू हिँडेको बाटो र जानु पर्ने ठाउँको कल्पना भएको उनले बताइन्।
अन्तर्कियात्मक कार्यक्रममा कक्षा आठ, नौ र दशका एक सय पचास भन्दा बढी विद्यार्थीको सहभागिता थियो। उषा कँडेल, भावना कार्की, रजनी रोकाहा, मञ्जिता सिटौला, शिशिर बलामी लगायतका दर्जनौं विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए।
कक्षा दशमा अध्ययनरत शिशिर बलामीले 'नेपालमा लेखक साहित्यकारहरुको सम्मान किन नभएको' भन्ने प्रश्न गरेका थिए।
छात्रा भावना कार्कीले यस प्रकारका कार्यक्रमले बालबालिकालाई लेख्ने प्रेरणा मिलेको बताइन्।
किताबका पानामा देखिएका साहित्यकारलाई बालबालिकासँग प्रत्यक्ष भेट गराउने कार्यक्रमको उद्देश्य रहेको संयोजक तर्कना शर्माले बताइन्।