शुक्रबारको रिलिज मिति नजिकिदै गर्दा आफैले लेखेको कथामा बनेको 'कायरा'को प्रचारमा अभिनेता आर्यन सिग्देलले आफ्नो मोफसल प्रचारलाई गति दिने क्रममा चितवन पुगेका छन्।
शनिबार फिल्मको प्रचारका लागि बाइक र्यालीमा सहभागी भएर आर्यन फिल्मकी जोडी साम्राज्ञीका साथमा सोमबार चितवन पुगे। उनले सोमबार चितवनका पत्रकार माझ आफ्नो फिल्मको बारेमा जानकारी दिए।
‘कायरा’ एउटा गहिरो लव स्टोरी फिल्म भएको र फिल्मको मुख्यपात्र मायामा असफल भएपछि फिलिपिन्स गएको कथावस्तु फिल्मले प्रस्तुत गर्ने अभिनेता सिग्देलले बताए।
उनले सबै कुराले सजिलो भएर फिल्मको छायांकन गर्न फिलिपिन्स गएको बताउदै सबै कुरामा भाग्यमानी पात्र जब मायाको कुरा आउछ अभागी रहेको पात्रमा आफू देखिने भनाइ राखेका थिए। उनले 'कायरा'मा अरु फिल्ममा भन्दा फरक पात्र देखिने आफ्नो चरित्रले दर्शकको मन जित्ने आशा व्यक्त गरेका थिए। फिल्म निकै राम्रो बनेको उनको भनाइ थियो।
त्यस्तै फिल्मकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहका अनुसार फिल्म ‘कायरा’ मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको छ। उनले आफुले फिल्म खेल्नुको कारण थाहा पाउनको लागि फिल्म हेर्नुपर्ने बताइन्। शाहले आर्यनसँग काम गर्दा आफुले धेरै कुरा सिकेको भन्दै उनले आर्यनको तारिफ गर्नसमेत भ्याइन्।
फिल्ममा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।