वीरगन्जका लेखक गणेश लाठले तयार पारेका कथा संग्रह ‘छमिया’ शनिबार काठमाडौंमा विमोचित भएको छ। विश्लेषकद्वय सिकेलाल र घनश्याम भूषालले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।
‘लाठका कथाहरुमा मध्यमवर्गका बिसंगति र बिडम्बनाहरु कतै कटाक्ष त कतै हाँस्य अनुभूतिका माध्यमबाट प्रतिविम्वित भएका छन्,’ प्रमुख अतिथि सिकेलालले भने, ‘गैर नेपालीभाषीले नेपाली भाषामै लेख्न खोज्दा भाषागत र शैलीगत केही कमी कमजोरी देखिएता पनि यो गज्जबको पठनीय कृति हो।’
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि भूषालले यस्ता कृतिहरुले राष्ट्रिय साहित्यको विकासमा मद्दत गर्ने उल्लेख गरे।
‘सत्ताले जे चाहन्छ त्यसैलाई केन्द्र बनाएर साहित्यको विकास हुँदै आएको थियो,’ भूषालले भने, ‘तर, गैर नेपालीभाषीहरुका सिर्जनासमेत अगाडि आउने हो भने त्यसले बल्ल राष्ट्रिय साहित्यको निर्माण र विकासमा सघाउ पुर्याउनेछ।’
यसअघि ‘अनुराधा भवन’ उपन्यास तयार पारिसकेका लेखक लाठले मूलतः जीवनीका रुपमा देखिने गैरआख्यानभन्दा आख्यानले समाज र पात्रहरुको सही चित्रण गर्ने देखेर यसै विधामा कलम चलाएको प्रष्ट पारे।
व्यंग्यकार लक्ष्मण गाम्नागेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको २ सय ५८ पृष्ठको पुस्तकमा नौवटा कथा समेटिएका छन्।