देशभर रोपाइँ महोत्सव चलिरहेका बेला पोखरा उद्योग वाणिज्य संघको हलमा चाहिँ अक्षरको खेती भैरहेको थियो जहाँ लोकप्रिय कवि प्रकट पगेनी शिव आफ्ना बेजोड कविता सुनाइरहेका थिए ।
पगेनीका एक पछि अर्को कविता उत्तिकै प्रभावशाली थिए । त्यसैले त दर्शकहरुबाट उनले वाह ! वाही ! पाइरहे । उनका केही कविताले दर्शकलाई काउकुती लगाए भने केहीले आँखाको डिल भत्काए ।
तन्नेरी स्रष्टाहरुको संस्था पुछारसिटे अभियानले कन्सेप्ट नेपाल र अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानको सहकार्यमा असार १५ गते पगेनीको एकल कविता वाचन गराएको थियो।
पगेनीले गाउँले जनजीवन झल्काउने १४ वटा कविता सुनाएर शुक्रबार साँझ पोखरेलीलाई लठ्याए।
सरल शब्दमा गहन भाव पस्किन सक्नु उनको खुबी हो । कविता सुन्न विभिन्न विधाका साहित्य अनुरागीको जमघट थियो । कविताले आफ्नो मन जितेको नेपाली चलचित्रका निर्देशक घनश्याम लामिछानेले सुनाए । उनले पगेनीको एकल कविता वाचन काठमाडौं लगायत अन्यत्र पनि आयोजना गर्न सके राम्रो हुने प्रतिक्रिया दिए ।
आयोजकले कविता सुन्न आएका दर्शकहरुलाई दही च्यूरा खुवाएर स्वागत गरेको थियो । उनीहरुले दुई सय रुपैयाँको टिकट काटेर कविता सुनेका हुन् ।
पगेनीले वाचन गरेका कविताहरुको भिडियो युट्युवमा राखिने एकल वाचन कार्यक्रमका संयोजक कवि सञ्जिब पौडेलले बताए । आयोजकले पगेनीलाई पारिश्रमिकस्वरुप १५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।
विशेषतः युवा साहित्यकारलाई सहयोग, प्रेरणा र हौसला बढाउँदै आएका पगेनी पोखराका साहित्यिक अभिभावक पनि हुन् । त्यसैले त कविता सुन्नेहरुको भिडमा युवाकै बाहुल्यता देखिन्थ्यो ।
यस अघि कवि एवं गजलकार पगेनीको पोखरामै एक पटक एकल कविता वाचन भएको थियो भने काठमाडौं, चितवन, दमौली, पोखरा र नेपालगञ्ज लगायत सहरमा पटक पटक एकल गजल वाचन गरिएको थियो । आउँदो तिहारको छेको पारेर उनका शुभेच्छुकले काठमाडौंमा पनि उनको एकल कविता वाचन गर्ने मेसो मिलाएका छन् ।