पुछारसिटे अभियानले असार १५ को अवसरमा दही च्यूरा खाँदै कविता सुन्ने कार्यक्रम आयोजना गरेको छ।
आज अपरान्ह ४ बजे पोखरास्थित उद्योग वाणिज्य संघको हलमा उसले लोकप्रिय कवि, गीतकार एवं गजलकार प्रकट पगेनी ‘शिव’ को एकल कविता वाचन आयोजना गरेको छ।
कार्यक्रममा पगेनीले असार शीर्षकको कवितासँगै आफ्ना चर्चित नयाँ तथा पुराना दुई दजर्न कविता वाचन गर्नेछन्। बेजोड वाचन शैली भएका पगेनी सरल शब्दमा गहन भाव प्रकट गर्ने खुबी भएका कवि हुन्।
कार्यक्रमका सह-आयोजक अलिमियाँ लोकवाङमय प्रतिष्ठान र कन्सेप्ट नेपाल हुन्। एकल वाचनको सुरूमै श्रोता तथा दशर्कलाई दही च्यूरा खुवाइने कार्यक्रम छ।
कविता सुन्न दुई सय रूपैयाँको टिकट काट्नुपर्ने कार्यक्रम संयोजक संजीव पौडेलले जानकारी दिएका छन्। युवा साहित्यकारहरुको अभियानको पहिलो कार्यक्रम नै यो एकल वाचन हो । कार्यक्रममा वाचित सबै कविताहरुलाई युट्युवमा राखिनेछ।
यसअघि काठमाडौं, पोखरा, दमौली, चितवन, नेपालगञ्जलगायत धेरै ठाउँमा पगेनीको एकल गजल वाचन भैसकेको छ ।
सधैं हँसिलो भएर साहित्य सृजनामा समर्पित पगेनी पोखराका धेरै युवा श्रष्टाका अभिभावक हुन्। कुनै लप्पन छप्पन नभएका सरल कवि हुन्। उनका तीन वटा कृति प्रकाशन भैसकेका छन्। दुईटा गीत संग्रह–यो मन कत अल्झेको छ र जुनको चिठी जुनलाई। त्यस्तै एउटा गजल संग्रह– प्रणय वेदका ऋचाहरु प्रकाशित छन्।
उनले प्रकाशनका लागि गजल, कविता र उपन्यासका पाण्डुलिपि तयार भएको सेतोपाटीलाई बताएका छन्।