नेपाली नाटक ‘उपियाँको निबन्ध’ भारतको कलकत्तामा मञ्चन हुने भएको छ।
केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा मञ्चन हुने भएको हो।
थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को संयुक्त प्रयासमा नाटक असार ४ गते मञ्चन हुने भएको हो।
नाटकलाई कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्नेछ।

नाट्य महोत्सव १७ जुनदेखि २१ जुनसम्म हुँदैछ।
नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी हुने नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन हुनेछन्।
फेस्टिभलमा नाटक ‘उपियाँको निबन्ध’को ४० औं मञ्चन हुनेछ।
यसअघि प्रेरणा विद्याश्रमले २०६८ मा रुसी सांस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो। त्यस्तै, २०६९ मा मण्डला थिएटरमा भएको बालनाटक मेलामा चार मञ्चन भएको थियो।
नियमित मञ्चनको रूपमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले २०७३ मा थिएटर मल नाटकघरमा व्यवसायिक कलाकारका साथमा ३४ मञ्चन गरेको थियो।
स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रूपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन्। त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ।
कलकत्तामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरु सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गर्नेछन्।
नेपालबाट चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एण्ड स्कुल बोय’को टोली पनि सो महोत्सवमा सहभागी हुनेछन्।