हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखाना स्थापना गरेका थिए। दोश्रो विश्वयुद्धताका यही कारखानालाई बम उत्पादन केन्द्र बनाइयो। डालास सहरको त्यही स्थान यसपालि नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बनेको छ।
सन् १९९३ मा यही स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा पुनःनिर्माण गरेपछि यो संभव भएको हो। यो त्यही थलो हो जहाँ नेपथ्यभन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनलीले आफूलाई प्रस्तुत गरिसकेका छन्।
‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान कलाकारले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो,’ कन्सर्ट सकिने बित्तिकै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘हामी यी दुवै गायकलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ।’
दुई हजार पाँच सयभन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो हो।
‘दुई घन्टाको कार्यक्रमभर एक निमेष पनि मैले अरु कुराबारे सोच्नै पाइनँ र पुरै कन्सर्टमै केन्द्रित भएछु,’ पाइलट अध्ययन निम्ति अमेरिका बसोबास गर्दै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुई घन्टा बन्यो।’
कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भयो। त्यसपछि ब्याण्डले एकपछि अर्को सदाबहार र नयाँ अल्बमका गीतले निरन्तरता दिएर दर्शकलाई सँधैजस्तै बाँध्न सफल भयो।
आजसम्म नाम नराखिएको ब्याण्डको दसौं अल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोशीको पानी यो जिन्दगानी’ लाई दर्शकले असाध्यै रुचाए। त्यसैगरी सदाबहार गीततर्फ ‘भेडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतहरुले दर्शकको जोश बढाएको थियो। कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले माहोल पुरै देशभक्तिमा डुबाएको थियो।
‘नेपथ्यले आज मलाई घरको याद दिलायो,’ १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दैआएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरु सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहिँ घर फर्केर देशकै निम्ति केही गर्नुपर्ने रहेछ भन्ने भावना बढेको छ।’
कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णन सुनाउँदै दर्शकलाई पनि नेपालका गाउँघरको भ्रमण गर्न उत्साहित पारेका थिए। यो मौका उपयोग गर्दै उनले निकै कठिनाइपछि प्राप्त भएको स्थायित्व कायम राख्न र मुलुकलाई विकासको बाटोमा अघि बढाउन नेताहरुलाई अनुरोध गरे।
‘यस हलमा कुनै समय बनेका बमहरु मानवताविरुद्ध विध्वंशका माध्यम बनेका थिए होलान्,’ उनले भने, ‘संसारभरका सबै बम कारखाना पनि यसैगरी गीत प्रस्तुत गर्ने थलोका रुपमा विकास हुनुका साथै प्रेम र संगीतले युद्ध र हिंसालाई सँधैसँधैका लागि जितोस् भन्ने कामना गर्छु।’
डालासको यो प्रस्तुती ब्याण्डले लामो समयको प्रतिक्षापछि सम्पन्न गर्न सकेको हो।
‘हामीले सन् २०१२ ताकै ब्याण्ड अमेरिका भ्रमणमा रहेको बेला यहाँ पनि बोलाउने प्रयास गरेका थियौं,’ आयोजक टिमका बचन तिवारी भन्छन्, ‘तर, त्यतिबेला सफल हुन सकेनौं।’
आयोजक टिमका अर्का सदस्य दिवस थापाका अनुसार सन् २०१५ मा फेरि कन्सर्ट निम्ति नेपथ्य अमेरिका आउँदा उनले न्यूयोर्कका आयोजकहरुसँग यस बारेमा कुराकानी गरेका थिए। त्यतिबेला पनि सफलता हात लागेन।
‘त्यसपछि हामी स्वयं ब्याण्डको व्यवस्थापनसँग भेट्न सानफ्रान्सिस्को पुग्यौं,’ उनले भने, ‘सन् २०१६ मा नेपथ्यले क्यालिफोर्नियाको त्यस सहरमा कन्सर्ट गर्दाकै क्षण हाम्रो भेटघाट भयो।’
अन्ततः त्यही प्रयासको प्रतिफलमा यसपाला ब्याण्डलाई डालास निम्त्याएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उनले बताए।
‘अहिले त सपना पुरा भएजस्तो लागिरहेको छ,’ दिवसले थपे, ‘आयोजकका रुपमा यसरी सफल भएपछि हामी असाध्यै खुशी छौं।’
‘नेपथ्य ब्याण्ड केटाकेटीदेखिको यादसँग मिसिएरै मेरो सम्झनामा बसेको छ,’ विनोद लामा भन्छन्, ‘चाहे नेपालमा हुँदा होस् वा अमेरिका आएपछि, मैले कहिल्यै पनि यसको कन्सर्ट छाडेको छैन।’
कुराकानी क्रममा आफू डालासमा बसे पनि कुनै समय लस एन्जलस र सानफ्रान्सिस्को सहरसम्म मोटर हाँकेरै कन्सर्ट हेर्न पुगेको संस्मरणहरु विनोदले सुनाए।
‘यसपटक चाहिँ आफू बसेकै ठाउँमा हेर्न पाएँ,’ उनले भने, ‘अमेरिकामै फरक फरक सहरमा तेश्रोपटक नेपथ्यको अनुभव लिनपाउँदा रमाइलो लागिरहेको छ।’
डालासमा भब्य एवं सफल प्रस्तुतीसँगै ब्याण्ड अब पूर्व किनारमा रहेको अमेरिकी सहर बोस्टनतर्फ लाग्ने भएको छ। त्यस सहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखका दिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ।