‘क्यारिकेचर’ भन्नाले सामान्य अर्थमा कुनै पनि व्यक्तिको रूप, रेखालाई परिवर्तन गरी व्यंग्यात्मक शैलीमा चित्रांकन गर्नु हो।
‘क्यारिकेचर’मा मुहार चित्रको भावभंगिमा अतिरञ्जना हुनु अति आवश्यक मानिन्छ। राजनीतिक व्यक्तित्वका क्यारिकेचर गरिएका कार्टुनहरू बेलाबेला पत्रपत्रिकामा आइरहेका हुन्छन्।
नेपाल आर्ट काउन्सिलमा जारी ‘नेपाली क्यारिकेचर २०७५’ मा भने राजनीति बाहेकका व्यक्तित्वका ‘क्यारिकेचर’ राखिएका छन्। जसमा नेपाली समाजमा परिचित व्यक्तित्वको ‘क्यारिकेचर’ छन्।
करिब ४ दर्जन ‘क्यारिकेचर’ रहेको प्रदर्शनीमा राष्ट्रकवि माधव घिमिरे, अभि सुवेदी, क्रिकेटर सन्दीप लामिछाने, पत्रकार रवि लामिछाने, गायक अमृत गुरुङ, कलाकार शशी शाह लगायतलाई देख्न सकिन्छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लबले संयुक्त आयोजना गरेको प्रतियोगितामा ३४ कार्टुनिष्टले बनाएको कार्टुन राखिएका हुन्।
यसमा नाम चलेका कार्टुनिष्टदेखि नवप्रतिभासम्मको सिर्जना छ। मनुजबाबु मिश्र, अशोकमान सिंह, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन पाण्डे, देवेन्द्र थुम्केली, केशव राज खनाल, रवी मिश्र, आरके थापा, उमेशचन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, रवीन्द्र मानन्धर, पल्पसा मानन्धर लगायतका कलाकारले बनाएको ‘क्यारिकेचर’ देख्न सकिन्छ।
प्रतियोगितात्मक प्रदर्शनीमा अभिनास मल्लले प्रथम भइ १५ हजार प्राप्त गरेका छन्। त्यस्तै, द्वितिय भएर सुरज शाक्यले १२ हजार र रमिला महर्जनले तृतीय भएर १० हजार प्राप्त गरेकी छन्।





सबै तस्बिरहरू: सेतोपाटी