श्रावण ११ गते रिलिज हुने 'चि मुसी चि' पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा 'तिमीले माग्छौ भने' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर रहेको छ । गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू फिल्म हो ।
गीतको कोरियोग्राफी अभिनेता क्षेत्री स्वयंले गरेका हुन्।
म्यूजिकल थ्रिलर फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।
डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले 'चि मुसी चि'को कथाले आफूलाई आकर्षित गरेको बताए ।
चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका 'चि मुसी चि'मा निर्वाह गर्न पाएकोमा प्रफुलित देखिईन् ।
शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।