केही समयता नेपाली साहित्य धमाधम अनुवाद गरेर पढ्न थालेको दक्षिण कोरिया अब कलामा पनि साझेदारी गर्न थालेको छ।
सांस्कृतिक आदानप्रदान अन्तर्गत दुवै मुलुकका १९–१९ जना कलाकारहरूको संयुक्त प्रस्तुति लिएर कलाकर्मीहरू काठमाडौंमा जम्मा भएका छन्। शनिबारदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा सुरू भएको पेन्टिङहरूको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन संस्कृतिविद् एवं काउन्सिलका अध्यक्ष सत्यमोहन जोशीले गरेका छन्।
‘हाम्रो मुलुक परिवर्तनको नयाँ चोलामा प्रवेश गर्दैछ,’ उद्घाटनपछि सम्वोधन गर्दै जोशीले भने, ‘यसलाई संस्थागत गर्न र विश्वका सामू हाम्रो नयाँ रुप उजागर गर्न पुरानो मित्र दक्षिण कोरियाले सघाओस् भनेर अपेक्षा गरेका छौं।’
भूगोलले थोरै मात्र टाढा राखेता पनि सामाजिक मूल्य र मान्यताले हामी एशियालीहरूबीच अपनत्व रहेको र त्यसको प्रभाव कला र साहित्यमा पनि देखिने गरेको जोशीले बताएका थिए।
‘काठमाडौं रहँदा कला प्रदर्शनीबाहेक हामी केही सेमिनारहरू पनि आयोजना गर्दैछौं,’ सरिक हुनका निम्ति कोरियाली कलाकारको टोली लिएर आएका प्राध्यापक इम् गुन उ भन्छन्, ‘यसले हामीलाई सहकार्यका साथसाथै अन्तर्राष्ट्रिय नेटवर्क विकास गर्न पनि सघाउनेछ।’
बबरमहलमा पाँच दिनसम्म चल्ने यो प्रदर्शनीमा शशी शाहजस्ता पाका हस्तीदेखि लिएर नयाँ पुस्तामा संभावना बोकेका बरुण पोखरेल, प्रविण श्रेष्ठ र प्रदीप अधिकारीजस्ता कलाकारहरूको ताजा काम हेर्न सकिन्छ।
प्रदर्शनीमा स्थापित नेपाली कलाकारहरू वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय र मदन चित्रकारका कलाकृति पनि राखिएका छन्। त्यसैगरी, युवा पुस्ताका भूफान लिम्बु, विक्कुकुमार थापा, देवेन्द्र थुम्केली, मन गुरुङ, मुकेश श्रेष्ठ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ र उमेश साहका चित्रहरू पनि सजिएका छन्।
त्यसैगरी, कोरियाका तर्फबाट प्राध्यापक इम् गुन उ, किम उन क्यू, ली क्वान उ, ली जे साङ्, ए रियोङ, छो सङ यङ् र ली ओन जुलगायतका कलाकृतिहरू समेटिएका छन्।
प्रदर्शनीले दुई मुलुकका कलाकारहरूबीच साझेदारीको मौका दिनुका साथै हाम्रा कलाकृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने जानकारी सहभागीहरूले दिएका छन्।