‘म एक महिला हुँ। म फिल्म दुनियाँमा प्रवेश गर्न चाहन्छु। तर, यहाँ महिला फिल्म क्षेत्रमा प्रवेश गर्नुलाई नराम्रो मानिन्छ।’
एकादेशमा इन्टरनेसनल फिल्म फेस्टिभलमा शनिबार देखाइएको अफ्गानी फिल्म ‘इन प्यारेन्थेसिस’ को संवाद यो हो।
काठमाडौंको कुमारी हलमा जारी फेस्टिभलमा शनिबार ‘वुमन इन फिल्म’ विषयमा छलफल गरियो। जसमा फिल्मी क्षेत्रमा महिलाले भोग्नुपरेको चुनौती र समस्याबारे छलफल भएको थियो।
छलफलमा भारतीय सिरियल र नेपाली डकुमेन्ट्रिमा पटकथा लेख्दै आएकी सम्पदा मल्ल, आर्ट डिजाइनर मेनुका राई, अभिनेत्री ऋचा शर्मा र डकुमेन्ट्रि निर्देशक रम्यता लिम्बूले आफ्ना अनुभव साटेका थिए।
आर्ट डिजाइनर मेनुकाले महिला फिल्मकर्मीको समूह बनाउन निकै गाह्रो भएको उल्लेख गरिन्। ‘फिल्म क्षेत्रमा लागेका महिलाको संख्या निकै कम छ, धेरैपटक म एक्लै परेको छु,’ उनले भनिन्।
फिल्ममा महिलालाई दबिएका, हेपिएका भूमिका दिइनेमा गुनासो गर्दै अभिनेत्री ऋचाले भनिन्, ‘मलाई फरक धारका भूमिका गर्न मन लाग्छ। तर, कतिपय पात्रले मलाई लामो समयसम्म घोचेको छ। फिल्ममा महिलालाई किन कमजोर पात्रका रूपमा उभ्याइयो भन्ने कुराले बारम्बार विचलित बनाएको छ।’
डकुमेन्ट्रि निर्देशक रम्यताले नेपाली फिल्म क्षेत्रले लामो फड्को मारे पनि पुरानै मूल्यमान्यता बोकेका बताइन्।
४३ देशका ९९ फिल्म समावेश भएको फिल्म फेस्टिभल मसिंर ३ गते समापन हुँदैछ।