अष्ट्रेलियाबाट नेपाली साहित्यमा क्रियाशील साहित्यकारलाई दिइने साताको साहित्य पुरस्कार यस वर्ष कवि प्रोल्लास सिन्धुलीयले प्राप्त गरेका छन्।
अष्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको साताको साहित्य नामक संस्थाले यो पुरस्कार प्रदान गर्दै आएको छ। साताको साहित्य डटकममा एक वर्षसम्म छापिएका उत्कृष्ट रचनालाई यो पुरस्कार वितरण गर्ने गरिन्छ। संस्थाका सम्पादक निष्प्रभ सजीले एक विज्ञप्ति जारी गर्दै २० हजार रुपैयाँ र ताम्रपत्रसहितको यो पुरस्कार उनलाई प्रदान गरिने जनाएका हुन्।
नेपाली साहित्यलाई योगदान गरिरहेको साहित्यकारहरूलाई प्रोत्साहन दिन र नेपाली साहित्यको जर्गेनामा टेवा पुर्याउने उद्देश्यले ६ वर्षअघि पुरस्कारको स्थापना गरिएको थियो। एक वर्षसम्म छापिएका रचनाहरूमध्ये यस वर्ष कवि नवीन प्यासीको ‘झुसिलकिरा’, सुशील सुब्बाको ‘आमा’ र सिन्धुलीयको ‘एउटा प्रश्नपत्र’ उत्कृष्ट तीन रचनामा छानिएका थिए।
यस पुरस्कार यसअघि रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली र बोनम प्रतापले प्राप्त गरिसकेका छन्। यसवर्ष सञ्जीव पाण्डे, सुजीत सिग्देल, महेन्द्र पौडेल र विष्प्रभ सजीसमेत ४ जनाको निर्णायक मण्डलले सिन्धुलीयको रचनालाई उत्कृष्ठ ठह्रयाएको हो।