मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को पहिलो चरणका लागि छनोट भएको छ।
जारी सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहेन टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मछिन्द्र एएफसी कपमा छनोट भएको हो।
सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने क्रममा मछिन्द्रले निर्णायक आइतबार नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्यो।
मछिन्द्र जितमा सुनील बलले निर्णायक गोल गरे। उनले खेलको २१ मिनेटमा हेडमार्फत गोल गरे। विशाल राईले डिबक्स बाहिरबाट हानेको फ्रिककमा उनले गोल गरेका थिए।
निर्णायक खेलमा जित निकालेसँगै पुलिसले सात खेलबाट १७ अंक जोड्यो। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १६ अंक छ। आइतबारको खेलमा मछिन्द्रले अंक गुमाएको अवस्थामा मनाङ एएफसी कपमा छनोट हुने समिकरण थियो।
मछिन्द्रले पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको हो। सन् २०७६ मा लिग च्याम्पियन भए पनि मछिन्द्रले २०२१ को एएफसी कप खेल्नबाट बञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो। गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो।
यो वर्ष भने आर्मी, मनाङ, मछिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए।
पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मछिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो।
सन् २०२२ को एएफसी कपको पहिलो चरण मार्चको अन्त्यमा हुने बताइएको छ।