घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदान पोखरा रङ्गशालामा आज आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र सङ्घर्षपूर्ण जित निकाल्दै लिगको अङ्क तालिकाको पहिलो स्थानमा उक्लिन सफल भयो। यससँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको छ। घरेलु मैदानमा दोस्रो खेल खेल्ने क्रममा मनाङलाई बिबिसीले दबाबमा राखेको थियो। पहिलो हाफको इन्जुरी समयमा मनाङले कप्तान अञ्जन विष्टको गोलमार्फत खेलमा अग्रता बनायो।
मनाङका विदेशी खेलाडी दयानन्न सिंहको पासमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित विष्टले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए। यसअघि खेलको १५औँ मिनेटमा बिबिसीले अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो। मनाङका डिफेण्डर आदित्य चौधरीले बिबिसीका शिशिर लेखीलाई हाफल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकामा लेखीको पेनाल्टी प्रहार पोष्टमाथिबाट आकाशियो।
घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दबाबमा परेको थियो। बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन। मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो। एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै राख्नसमेत आजको खेल जित्नै पर्ने दबाब थियो मनाङ। लिगको छैटौँ चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएपछि मनाङको एएफसी कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो।
बिबिसीसँँगको खेलपछि मनाङ १६ अङ्कसहित लिगको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। मनाङभन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अङ्कसहित दोस्रो स्थानमा छ। मनाङको ध्यान बिबिसीसँग खेलपछि अब मछिन्द्र र नेपाल पुलिस क्लबबीच आइतबार हुने खेलमा हुनेछ। पुलिससँग मछिन्द्र पराजित वा बराबरी खेलेको अवस्थामा मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउने छ। मछिन्द्र विजयी भएको अवस्थामा भने मनाङको एएफसी खेल्ने सम्भावना अन्त्य हुनेछ। मछिन्द्र एएफसीका लागि छनोट हुनेछ।
खेलपछि पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टिमले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गरे। आफ्नो टोलीलाई भाग्यले ठूलो साथ दिएको र खेल जितको बताउँदै उहाँले योजनाअनुसार खेल्न नसकेको र तालमेल नमिलेको बताए। खेल जस्तो भएपनि तीन अङ्क जोड्न पाउँदा उहाँले खुःशी व्यक्त गरे। बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो र दोस्रो हाफमा दुवैमा राम्रो खेलेर गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न नसकेको बताए। पेनाल्टी सदुपयोग गर्न नसक्नु र दुई वटा बल पोलमा लाग्नु टोलीका लागि दुर्भाग्य भएको उनले बताए।
जारी लिगका तीन खेल मनाङले आफ्नो घरेलु मैदान पोखरामा खेल्ने तालिका रहेकामा यसअघि नेपाल पुलिस क्लबसँग खेलिसकेको छ। मनाङ पुलिससँग ३–१ गोल अन्तरले विजयी भएको थियो। मनाङले अब आगामी पुस २४ गते च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ।