संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३-० गोलले पराजित गर्दै संकटा तेस्रो स्थानमा उक्लिएको हो।
संकटाले तीनै गोल पहिलो हाफमा गरेको थियो।
१२ मिनेटमा संकटाले खेलमा अग्रता लियो। उसका लागि उत्तम राईले गोल गर्न सफल भए।
२८ मिनेटमा संकटाले अग्रता दोब्बर पार्यो। उत्तमले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्न सफल भए।
३८ मिनेटमा लक्ष्मण रूचालले तेस्रो गोल गरेपछि संकटा पहिलो हाफमा सजिलो अवस्थामा देखिएको थियो।
जितसँगै तेस्रो स्थानमा उक्लिएको संकटाले ६ खेलबाट १२ अंक जोडेको छ।
शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको १४ अंक र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १३ अंक छ। चौथो स्थानमा झरेको त्रिभुवन आर्मी क्लबको ५ खेलबाट ९ अंक छ।