नेपाल फिफाको नयाँ वरीयतामा यथावत स्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६९ औं स्थानमै रहेको हो। गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा थियो।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १०४ औं स्थानमा तथा माल्दिभ्स १५७औँ स्थानमा छन्। यी दुबै टोली पनि अघिल्लो महिनाकै स्थानमा यथावत रहेका हुन्।
नेपालभन्दा पछि रहेको भुटानले एक स्थान सुधार गर्दै १८५ औं स्थानमा र एक स्थाननै सुधार गरेको बंगलादेश १८६ औं स्थानमा छन्। यस्तै पाकिस्तान १९८औं स्थानमा र श्रीलंका २०४ औं स्थानमा छन्।
एसियाली राष्ट्रको वरियतामा इरान शीर्ष स्थानमा कायमै रहँदा जापान दोस्रो, दक्षिण कोरिया तेस्रो, अष्ट्रेलिया चौथो र २ स्थान सुधार गरेको कतार पाँचौ स्थानमा छन्।
नयाँ विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत छ। बेल्जियम लगातार चौथो वर्ष शीर्ष स्थानमा रहन सफल भएको हो।
यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्यान्ड चौथो स्थानमा छ। पाँचौँमा अर्जेन्टिना, इटाली छैटौँ स्थानमा छन्। स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः छैठौंदेखि शीर्ष १० मा अटाएका छन्। यो सूचीमा पनि अघिल्लो महिनाको तुलनामा कुनै परिवर्तन भएको छैन।