सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले फ्रेण्ड्स क्लबलाई ३-१ गोलले पराजित गर्दै एपिएफले सिजनमा पहिलो जित हात पारेको हो। एपिएफको जितमा आसिस लामाले दुई गोल गरे।
खेलको ३० मिनेटमा बिकी तामाङको गोलबाट एपिएफले अग्रता लियो। ३२ मिनेटमा आसिस लामाले अग्रता दोब्बर पारे।
आसिसले ५६ मिनेट व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे।
६९ मिनेटमा फ्रेण्ड्सका प्रेजेन तामाङले गरेको गोल सान्त्वानामा सीमित बन्यो।
जितसँगै एपिएफले रेलिगेसन जोन छाड्न सफल भयो। एपिएफ ५ खेलबाट ४ अंक जोड्दै ११औं स्थानमा उक्लिएको छ।
पुछारमा झरेको फ्रेण्ड्सको भने २ अंक छ। फ्रेण्ड्स जारी सिजनमा अहिलेसम्म जित हात पार्न नसक्ने एक्लो टिम हो।
यससँगै लिगको पाँचौ चरणका खेल सकिएका छन्। पाँचौ चरणसम्म मनाङ मर्स्याङ्दी क्लब १३ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको साविक विजेता मछिन्द्र फुटबल क्लबको ११ अंक छ।