लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै चेल्सीले लिड्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो।
चेल्सीको जितमा जर्गिन्होको र मासन माउन्टले गोल गरे। लिड्सका राफिन्हा र जोइ गेलहाड्टले गोल गरे पनि हार टार्न सकेनन्।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको २८औं मिनेटमा राफिन्हाले पेनाल्टी गोलबाट लिड्सलाई सुरूआती अग्रताले दिलाएका थिए। ४२औं मिनेटमा चेल्सीका लागि मासन माउन्टले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।
खेलको ५८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए। ८३औं मिनेटमा जोई गेलहाड्टले मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्दै खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई रोमाञ्चक पुनरागमन जित दिलाए।
यो जितसँगै चेल्सीले शीर्ष दुई टोली म्यानचेस्टर सिटी र लिभरपुललाई दवाव बढाउँदै तेस्रो स्थानमा यथावत रहेको छ।
चेल्सीको १६ खेलबाट ३६ अंक छ । शीर्षस्थानको सिटीको ३८ तथा लिभरपुलको ३७ अंक छ। पराजित लिड्स १६ अंक जोडेर १५औं स्थानमा छ।