वेस्ट इन्डिज इंग्ल्यान्ड र वेल्समा आयोजना हुने २०१९ को एकदिवसीय विश्वकप खेल्न छानिएको छ।
जिम्बाम्बेमा जारी विश्वकप छनोट अन्तर्गत बुधबार भएको खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई डक वर्थ लुईस नियमका आधारमा ५ रनले हराउँदै विश्वकपमा प्रवेश पक्का गरेको हो।
स्कटल्याण्डको दुर्भाग्यबुधबार वेस्ट इन्डिजलाई हराउँदै विश्वकपमा पहिलो पटक प्रवेशको लक्ष्य लिएको स्कटल्याण्डका लागि वर्षा बाधक बनिदियो। आज वेष्ट इन्डिजलाई हराएको भए उ विश्वकप खेल्न पाउँथ्यो। तर, भाग्यले स्कटल्याण्डलाई साथ दिएन।
पहिले ब्याटिंग गर्दै वेस्ट इन्डिजले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ३५.२ ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो। तर मैदानमा मुसलधारे वर्षा हुँदा खेल रोकियो। त्यसपछि खेल फेरि सुचारू हुन सकेन।
खेल रोकिएको अवस्थामा स्कटल्याण्ड डिएल नियमबाट मात्र ५ रनले पछाडि थियो। सोही अन्तरले स्कटल्याण्ड पराजित हुँदै विश्वकप खेल्नबाट बन्चित भयो।
यदी यतिबेला स्कटल्याण्डले ४ विकेट मात्रै गुमाएको भए उसले वेस्ट इन्डिजलाई हराउँदै विश्वकपमा स्थान पक्का गर्थ्यो। ३२ औं ओभरमा ३३ रन बनाएर ब्याटिङ गरिरहेका रिची बेरिङटनलाई अम्पायरले गलत एलबिडब्लु निर्णय दिँदा स्कटल्याण्डले विकेट गुमाउन पुगेको थियो।
त्यो विकेट नगुमाएको भए पनि स्कटल्याण्ड विजयी हुने थियो।
पहिलो ७ ओभरमै कप्तान केली कोइट्जरसहित ३ विकेट लिँदै वेस्ट इन्डिजले उत्कृष्ट सुरुवात गरेका थियो। त्यसपछि अर्का मुख्य खेलाडी कालुम म्यक्लोइडलाई २१ रनमा एशले नर्सले कट एन्ड बोल्ड गर्दै पेभेलियन फर्काएपछि स्कटल्याण्ड निकै नाजुक स्थितिमा पुगेको थियो।
चौथो विकेट झरेपछि जर्ज मुन्सी (३२ रन) र रिची बरिङ्गटन (३३रन) बनाउँदै पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरे।
माइकल लेस्क र माइकल जोन्सले समान १४-१४ रन बनाएका थिए। वेस्ट इन्डिजका लागि केमार रोच र एशले नर्सले २/२ निकाले भने कप्तान जासन होल्डरले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले बलिङ रोजेको स्कटल्याण्ड सही साबित भएको थियो। उसको कसिलो बलिङसामू वेस्ट इन्डिजले ४८.४ ओभरमा अलआउट हुँदै १९८ रन बनाएको थियो।
स्कटल्याण्डका लागि सफ्यान शरीफले सुरूका महत्वपूर्ण दुई विकेट लिए। खेलको पहिलो बलमै क्रिस गेललाई र दोस्रो ओभरको पहिलो बलमा शाही होप दुवैलाई विकेट-किपर म्याथ्यु क्रसको हातबाट ० मै क्याच आउट गराउँदै स्कटल्याण्डका लागि उत्कृस्ट सुरुवात दिलाएका थिए।
त्यसपछि इभिन लेविस र मार्लोन स्यामुल्सले १२१ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज खेलमा फर्किएको थियो।
लेविसले ६६ र स्यामुल्सले ५१ र बनाउका थिए। कार्लोस ब्रैथवाइटले २४, रब्मन पावेलले १५ तथा कप्तान जासन होल्डरले १२ रन जोड्दै टिमको स्कोर १९८ बनाएका थिए।
बलिङतर्फ सफ्यान शरीफ र ब्राड व्हिलले ३/३ विकेट लिए भने माइकल लेस्कले २ तथा अलास्ड इभान्स र रिची बर्रिंगटनले १-१ विकेट लिए।
यदि बिहिबार हुने खेलमा घरेलु टोली जिम्बाबेले युएईलाई हराए विश्वकपमा छानिने दोस्रो टोली हुनेछ। तर, युएईले जिम्बाबेलाई हराए आयरल्याण्ड र अफगानिस्तानबीच शुक्रबार हुने खेलको नतिजाले विश्वकप खेल्ने दोस्रो टोली छानिन्छ।
बाँकी खेलहरु :- चैत ८ : जिम्बाबे Vs युएई
चैत ९: अफगानिस्तान Vs आयरल्याण्ड