नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा आज नेपाल र युएई भिड्दैछन्।
समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।
यस्तै बुधबार नै भएको अर्को खेलमा आयोजक नामिबियाको चुनौती १९ रनले पन्छाउँदै युएई लिगमा दोस्रो हुँदै फाइनलमा पुगेको हो।
शीर्ष २ मा परेका नेपाल र युएईबीच आज दिउँसो सवा १ बजे उपाधिका लागि एन्डरर्स मैदानमा भिड्दैछन्।
समूह चरणमा भएका ५ मध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने युएई ५ मध्ये तीन खेलमा मात्र जित हात पारेको छ।
नेपालले समूह चरणको निर्णायक तथा पाँचौ खेलमा क्यानडालाई पराजित गर्नु अघि नामिबिया, युएई र केन्यालाई हराएको थियो। नेपाल ओमानसँग भने पराजित भएको थियो।
यस्तै दोस्रो स्थानको युएईले समूहमा ३ खेल जित्दै ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो।
शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र युएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने भएका छन्। मार्च ४ बाट सुरू हुने प्रतियोगिता मार्च २५ मार्चमा सकिनेछ।
त्यसका लागि १० टिमले भाग लिँदैछन्। यीनै १० मध्ये शीर्ष २ टिम सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकप खेल्न योग्य हुनेछन्।
यदि आज नेपालले युइईलाई हराएमा च्याम्पियनमात्र बन्ने छैन विश्वकप छनोटमा कठिन टिमसँच खेल्नुपर्ने हुन्छ।
जिम्बाम्बेमा हुने विश्वकप छनोटमा अब नेपालले आयोजकसँगै वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, हङकङ, र युएईले प्रतिस्पर्धा गर्नुपर्नेछ।
विश्वकप छनोटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा बिभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एकअर्कासँग १-१ खेल खेल्नेछन्।
त्यसपछि दुवै समूहबाट उत्कृष्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछन्। समूह चरणमा पाएको अंकसमेत सुपर सिक्स चरणमा जोडिनेछ। सुपर सिक्स चरणपछि फाइनल पुग्ने २ हुने टिम विश्व कप २०१९ खेल्न छानिनेछन्।
यदि आज नेपालले युएईलाई हराए विश्वकप छनोटको समूह ए मा पर्नेछ। जहाँ वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनीसँग खेल्नुपर्नेछ।
यदि आज नेपाल पराजित भएमा समूह ‘बि’ रहेका अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हङकङ सँग सामना गर्नुपर्नेछ।
हेड टु हेड नेपाल र युएईप्रतियोगिताको लिग चरणमा भएको खेलमा नेपालले युएईलाई चार विकेटले हराएको थियो । जारी प्रतियोगितामा युएईमाथि नेपालको प्रदर्शन राम्रो रहे पनि समग्रमा भने युएई नेपालमाथि हाबी देखिन्छ।
युएई र नेपालबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ। त्यसमा ९ खेलमा युएई विजयी भएको छ। नेपालले मात्रै तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।
नेपाल र युएईबिच सन् १९९८ देखि प्रतिस्पर्धा हुन थालेको हो। तर नेपालले युएईमाथि सन् २०१२ मा आएर मात्रै जित दर्ता गरेको थियो।
पछिल्लो पटक भीडन्त भएका पाँच खेलहरू
- आइसिसि विश्व क्रिकेट लिग डिभिजन २, २०१८- नेपाल विजयी
- आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१७ - युएई विजयी
- आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१७ - युएई विजयी
- आइसिसि विश्वकप क्वालिफायर ट्रफि २०१४- युएई विजयी
- एसिसि प्रिमियर लिग २०१४- नेपाल विजयी