आगामी चैत १७ गते देखि धनगढीमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको दोस्रो धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन्।
दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कञ्चनपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन्। कन्चनपुरलाई महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको हो।
यो पटक पछिल्लो सिजनँसंग टिमहरुको सम्झौता सकिएका कारण टिमहरुले पहिले टिममा रहेका भन्दा फरक खेलाडीहरु चुनेका छन्।
गत सिजन बिराटनगर किंग्सको कप्तान रहेका शरद भेसावकर यो पटक व्यक्तिगत कारणले नखेल्ने भएक छन्। पछिल्लो सिजन धनगढी टिम चौराहाको कप्तानी गरेका पारस खड्का यसपटक विराटनगरका रणनीति खेलाडी हुनेछन्। पारसको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराहा धनगढीको रणनीतिक खेलाडी भने यसपटक सोमपाल कामि हुनेछन्।
राष्ट्रिय टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सि वाई सि अत्तरियाले यो पटक दीपेन्द्र सिंह ऐरीलाई रणनीतिक खेलाडीको रुपमा चुनेको छ।
यस्तै पहिलो सिजनमा कन्चनपुर आईकनिक्सका कप्तान रहेका बिनोद भण्डारी यसपटक नवप्रवेशी टोलि महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी चुनिएका छन्। रूपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौचन भने यस सिजनमा पनि रुपन्देहीमानै रहेका छन्।
प्रत्येक टोलीका रणनैतिक खेलाडीहरुले न्युनतम २ लाख पाउने भएका छन्। त्यसबाहेक टोलीसँगको सहकार्यमा त्यसबाहेक बढी रकम पनि पाउन सक्नेछन्। रणनैतिक खेलाडीले टोलीलाई आवश्यक सर सल्लाह दिनुका साथै आवश्यक पर्ने खेलाडीहरु अक्सनबाट खरिद गर्न सहयोग पुर्याउनेछन्।
यस्तै आयोजकले यसअघि नै फाल्गुन ९ गते हुने अक्सनका लागि खेलाडीहरुको श्रेणी विभाजन गरेको थियो। जस अनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै आएकालाई समेटेको छ। अक्सनमा उनीहरुको भाउ न्यूनतम १ लाख देखि अधिकतम १ लाख ५० हजार सम्म लाग्नेछ।
बी श्रेणीमा बाँकी राष्ट्रिय खेलाडीहरु तथा यु–१९ खेलाडीहरुलाई समेटिएको छ। अक्सनमा उनीहरुको भाउ न्युनतम ५० हजार देखि अधिकतम १ लाखसम्म रहने छ।
यस्तै बाँकी सबै अनक्याप्ड खेलाडीहरुलाई सी श्रेणीमा राखिएको छ। उनीहरुको अक्सनमा न्युनतम मुल्य २५ हजार देखि अधिकतम ७५ हजारसम्म तोकिएको छ।
यसपटक आयोजकले प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १/१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ।
रणनीतीक खेलाडी र दुई विदेशी खेलाडीबाहेक बाँकी १२ जना खेलाडीलाई ११ लाख रुपैयाँमा एउटा टोलीले किनिसक्नु पर्ने प्रावधान तोकिएको छ।
प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्वाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले १० लाख, तेस्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख पुरस्कार पाउनेछन्।
यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन्।
प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।
टिम |
रणनीतिक खेलाडी |
टिम मालिक |
सीवाईसी अत्तरिया |
दीपेन्द्र सिंह ऐरी |
क्रिएटिभ युथ क्लब अत्तरिया |
महेन्द्रनगर युनाइटेड |
बिनोद भण्डारी |
सुशील कुमार श्रेष्ठ |
बिराटनगर किंग्स |
पारस खड्का |
पारस लुनिया |
रुपन्देही च्यालेन्जर्स |
शक्ति गौचन |
सुरज उप्रेती |
टिम चौराहा धनगढी |
सोमपाल कामि |
राजकुमार श्रेष्ठ |
काठमाडौँ गोल्डेन्स |
ज्ञानेन्द्र मल्ल |
रमेश शिलवाल ( गोल्डेन गेट एजुकेसन नेटवर्क ) |