बुधबार चीनको हाङझाउ इस्पोर्ट्स सेन्टरमा पुग्दा समर्थकको घुइँचो थियो।
१९औं एसियाली खेलकुदका लागि तयार पारिएको भव्य इस्पोर्ट्स सेन्टर अगाडि चिनियाँ समर्थकले आफ्ना इस्पोर्ट्स खेलाडीलाई कुरिरहेका थिए।
लामो लाइन लागेका समर्थक मोबाइलबाट विपक्षीसँग आफ्नो देशको प्रतिनिधित्व गर्दै भर्चुअल युद्ध लड्ने खेलाडीको फोटो खिच्न चाहन्थे। त्यसअघि चीनले इस्पोर्ट्सको लिग अफ लिजेन्डमा मकाउलाई २-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।
जब चिनियाँ खेलाडीहरू अन्डरग्राउन्ड लिफ्ट चडेर पार्किङमा निक्लिए, ५० मिटर पर रहेका फ्यानहरूले आफ्नो तछाडमछाड गर्दै मोबाइलबाट फोटो खिच्न थाले।
एसियाली खेलकुदमा कतिपयले भर्चुअल रूपमा खेलिने खेललाई समावेश गरेकोमा आलोचना गरेका थिए। तर चीनमा यसको लोकप्रिकताले आलोचकलाई चुप बनाएको देखिन्छ।
यो भेन्यू निर्माणका लागि चीनले ६२७ मिलियन डलर खर्च गरेको छ।
राजस्व र प्रशंसकको आधारमा चीनसँग विश्वको सबैभन्दा ठूलो इस्पोर्ट्स बजार छ। बजारले २०२२ मा ४४५ मिलियन अर्थात् एसिया इस्पोर्ट्स बजारको ६४.८% ओगेटेको छ। चीनमा ४० करोड इस्पोर्ट्स फ्यान रहेको बताइएको छ। निको पार्टनरको तथ्याङ्कको आधारमा चीन सबैभन्दा बढी इस्पोर्ट्सको फ्यान भएको देश हो।
बुधबारको खेलमा ४ हजार क्षमताको इस्पोर्ट्स प्यारापिटको टिकट सोल्डआउट भएको थियो। एउटा टिकटको मूल्य १ हजार चिनियाँ युआन थियो।
पहिलोपटक महादेशीय खेलमा औपचारिक खेलको मान्यता पाएको इस्पोर्ट्स चीनमा निकै लोकप्रिय छ। माइन्ड गेमअन्तर्गत राखिएको इस्पोर्ट्समा चीनले मंगलबार मात्र मलेसियालाई हराएर इस्पोर्ट्समा पहिलो स्वर्ण जित्ने इतिहास लेखाएको थियो।
एसियाली खेलकुदको इतिहासमा पहिलो इस्पोर्ट्स स्वर्ण जित्ने क्रममा चीनले मलेसियालाई ‘स्मार्टफोन मल्टिप्लेयर लडाइँ’खेल एरेना अफ भेलोरमा हराएको थियो।
प्रतिस्पर्धात्मक रूपमा खेलिने भिडिओ गेमको खेल इस्पोर्ट्समा नेपालले पनि यसपटक डेब्यू गरिसकेको छ। अरू परम्परागत खेलमा निराशाजनक खेल देखाउने नेपालले यसपटक इस्पोर्ट्मा पाँच खेलमा भाग लिएको छ।
नेपालले पीस एलिटको रूपमा समावेश पब्जी मोबाइलसहित एरिना अफ भेलोर, ड्रिम थ्री किंग्डोम्स, डोटा र फिफा (ईफुटबल) मा भाग लिएको छ। जसमा २३ खेलाडी सहभागी छन्।
यसपटक नेपालले इस्पोर्ट्सबाट पदकको आशा गरे पनि तीन खेलमा भने बाहिरिसकेको छ। गत आइतबार फिफामा नेपालका समिर गुरूङ क्वालिफिकेसनकै खेलमा मकाओका खेलाडीसँग पराजित भएका थिए। सोही दिन नेपाललाई एरिना अफ भेलोरमा सेमिफाइनलमा पुगेर पदक जित्ने सम्भावना थियो। तर नेपाली टिम थाइल्यान्डसँग दुई राउन्डको खेलमा पराजित भयो।
एरिना अफ भेलोरमा नेपाल पाँचौं हुन सफल भयो। जारी एसियन खेलकुदमा नेपाली खेलाडीको यो अहिलेसम्मकै राम्रो प्रदर्शन हो। अरू खेलाडी अन्तिम आठबाट अघि बढ्न सकेका छैनन्।
बुधबार नेपालले ड्रिम थ्री किंग्डोम्सको समूह चरणका प्रतिस्पर्धा गरेको थियो। तर नेपाली टिम समूहमा किर्गिस्तान र भियतनाम दुबैसँग पराजित हुँदा अघि बढ्न सकेन। समूहमा नेपालले एक खेल जितेको भए नेपालको यात्रा सहज हुन सक्थ्यो।
इस्पोर्ट्समा नेपालका बोर्ड सदस्य विमल ताम्रकारले नेपालले सुरूवाती तीन स्पर्धामा प्रयास गरे पनि सफल हुन नसकेको बताए। सर्भर र प्रशिक्षकका कारणले नेपालले सोचेजस्तो तयारी गर्न नपाएको पनि उनको भनाइ छ।
इस्पोर्ट्स मात्र यस्तो खेल हो जुन खेलमा नेपाली टिम प्रशिक्षकविहीन भएर एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछ।
‘हाम्रो लागि केही खेलमा नयाँ डिभाइस र कोचको अभाव भयो,’ ताम्राकारले भने, ‘तर पनि हामीले अनलाइनमार्फत् विदेशी कोचबाट केही दिन अभ्यास गरेका थियौं।’
बुधबार ड्रिम थ्री किंग्डोम्स प्रतिस्पर्धा गरेका नेपाली खेलाडी अरूण मिश्रले राम्रो तयारी गरे पनि कीर्गिस्तानलाई जित्न नसकेको बताए। कीर्गिस्तानलाई हराएर समूह चरण पार गर्ने लक्ष्य भए पनि पूरा गर्न नसकेकोमा उनी निराश थिए।
विदेशी खेलाडीका लागि खेल्नका लागि अनलाइन पहुँच बढी हुने भएकाले नेपाली खेलाडी प्रतिस्पर्धा गर्न गाह्रो परेको मिश्रले बताए। उनले अभ्यास गर्नका लागि पहिलेदेखि नै समस्या परेको पनि सुनाए। चिनियाँ सर्भरमा पहुँच नहुँदा अभ्यास गर्न नपाएको पनि उनको भनाइ छ। त्यो पहुँच भियतनामका खेलाडीका लागि छ।
‘हामीलाई अभ्यास गर्न रिसोर्स नै थिएन। कम्प्युटरको एआईसँग अभ्यास गरेर खासै केही हुन्न। अरू व्यक्तिसँग खेल्ने सर्भर नै पाइएन,’ मिश्रले भने, ‘तर हामीले राम्रो खेल्यौं। रिजल्ट क्लोज नै थियो।’
तीन खेलबाट बाहिरिएको नेपालले पीस एलिटको रूपमा समावेश पब्जी मोबाइल र डोटामा प्रतिस्पर्धा गर्न बाँकी छ। यी दुई खेलमध्ये नेपालले पब्जी मोबाइलबाट पदकको आशा गरेको छ।
‘हामीले पब्जी मोबाइलबाट निरास बनाउँदैनौं जस्तो लाग्छ,’ बोर्ड सदस्य ताम्राकारले भने।