अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको लागि तय गरिएको निर्वाचन फेरी सरेको छ। संघको कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेको ठहर गर्दै निर्वाचन दुई हप्तापछिको लागि सारेको हो। यसअघि पुस २३ गतेका लागि तोकिएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ।
निर्वाचन समिति र उम्मेदवारहरूका लागि दाबी विरोधको समय आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई सातापछि सारिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले अधिवक्ता सुमन केसीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति पनि बनाएको छ। त्यस्तै अधिवक्ता मोतीराम गौतमको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अपील कमिटी बनाएको छ।
‘ए’ डिभिजन लिग मंसिर २९ देखि गर्ने तयारीएन्फाले आगामी मंसिर १४ गतेदेखि सुरू गर्ने निर्णय गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पनि दुई साता सार्ने तयारी गरेको छ।
एन्फाका सिईओ तुलाधरका अनुसार प्रतिनिधि–सभा र प्रदेश–सभा निर्वाचनका कारण लिग निर्धारित समयभन्दा केहि पर सार्न लागिएको हो। तर यसबारे निर्णय भने भइसकेको छैन। सोमबारको बैठकमा सामान्य छलफल भएपनि अर्को बैठकले लिगबारे निर्णय गर्ने सिईओ तुलाधरले जानकारी दिए।