शिखर धवनको सतकीय इनिङका कारण भारतले शनिवारदेखि सुरु भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ६ विकेटको क्षतिमा ३ सय २९ रन बनाएको छ।
धवनले १ सय १९ रन बनाए। उनले पहिलो विकेटका लागि केएल राहुलसँग मिलेर १ सय ८८ रनको साझेदारी गरेका थिए। राहुलले ८५ रन बनाए। भारतले यसअघि दुवै टेस्ट जितेको छ। शृंखला क्लिनस्विप गर्ने अभियानमा रहेको भारतले २ सय २९ रनमा ३ विकेट गुमाएको थियो।
तर, सय रन थप्ने क्रममा थप ३ विकेट गुमायो। कप्तान विराट कोहली ४२ रन बनाएर आउट भए। रवीचन्द्रन अश्विनले ३१ रन बनाए।
रिद्धिमान साह १३ र हार्दिक पाण्ड्या १ रनमा अविजित छन्। पुस्पकुमाराले ३ विकेट लिए।