अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसी स्पेनिस लिगको इतिहासमा उत्कृष्ट खेलाडी भएको अध्ययनले देखाएको छ।
स्पेनिस फुटबलको इतिहास र तथ्यको विषयमा लामो समय अनुसन्धान गरेर सार्वजनिक भएको रिपोर्टमा मेसी ला लिगाको ८६ वर्ष यताकै उत्कृष्ट खेलाडी भएको तथ्य उजागर भएको हो।
रियल म्याड्रिडका पूर्व कप्तान राहुल यो सूचीमा दोस्रो नम्बरमा परेका छन्। राहुलले सिजर रोड्रिगेज, टेल्मो जारा र एनरिक कास्ट्रो ‘क्युनी’ लाई उछिनेका छन्।
यो अध्ययनका क्रममा धेरै कुरालाई समावेश गरिएको थियो। खेलाडीले कति मिनेट खेले, उनीहरुले कति गोल नियमित प्रक्रियाबाट गरे, पेनाल्टीबाट कति गोल भयो, आत्मघाती गोल, रातो कार्डलगायत धेरै विषयलाई अध्ययनको आधार बनाइएको थियो।
यसको अनुसन्धान जोसे आन्टोनियो ओर्टेगाले गरेका थिए। सन् १९२९ मा ला लिगा सुरु भएयता ९ हजार २ सय ८० खेलाडीले आफ्नो प्रभाव जमाएका थिए, जसमा गोलकिपरको सूची ८ सय ५४ छ।
अध्ययनका क्रममा मेसीले लगातार केही सिजन यतादेखि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी ३ सयभन्दा बढि गोल गर्ने सूचीमा पर्छन्। मेसीले ला लिगामा हालसम्म ३ सय ४९ गोल गरेका छन्।
बल पासदेखि अन्य सबै कुरामा अंक प्रदान गर्ने क्रममा मेसीको अंक ५ सय ४५ पुगेको थियो, जुन राहुलको ५ सय २८ भन्दा १७ अंक बढि हो।
मेसीका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले अध्ययनमा १७ औं स्थान पाएका छन्। उनलाई ४ सय १५ अंक प्रदान गरिएको छ।
ओर्टेगाले भनेका छन्, ‘खेल्ने शैली, प्रतिभा र क्षमताले गर्दा मेसीलाई सर्वोत्कृष्ट बनाएको छ।’