स्प्रिन्टमा अपराजय झै भइसकेका जमैकाका ख्यातीप्राप्त धावक उसेन बोल्टलाई सय मिटर स्पर्धामा अमेरिकाका जस्टिन ग्याटलिनले पराजित गरेका छन्।
विश्व च्याम्पियनसिपबाट विदाई हुने अभियानमा रहेका बोल्टलाई उनको अन्तिम दौडमा २१ वर्षीय अर्का अमेरिकी धावक क्रिस्टियन कोलेमनले पनि पछाडि छोडे। बोल्टले कास्यमा चित्त बुझाउनु पर्यो।
दुई पल्ट डोपिङमा परेका ३५ वर्षीय ग्याटलिनले ९ दशमलव ९२ सेकेन्डमा दौड पुरा गरेका थिए। कोलेमनले ९ दशमलव ९४ को समय निकाले। खराब फिटनेश भए पनि बोल्टलाई उपाधिको दावेदार मानिएको थियो। उनी २० औं स्वर्णको नजिक थिए।
सन् २०१५ को वर्ष ग्याटलिनको उत्कृष्ट वर्ष भएपनि उनलाई बोल्टले हराएका थिए। उनले यसैको बदला लिएका छन्। बेइजिङ ओलम्पिकमा १ सय मिटर दौडमा स्वर्ण जितेपछि बोल्टलाई कसैले हराउन सकेका थिएनन्। तर, शनिवार राती उनी पराजित हुन पुगे।
बोल्टले ९ दशमलव ९५ सेकेन्डमा दौड पुरा गरेका थिए। ग्याटलिन २००४ को ग्रिस ओलम्पिकका स्वर्ण र २००५ विश्व च्याम्पियनसिपका सय मिटर विजेता हुन्।