नेपाल बास्केटबल संघको सहकार्य तथा ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ।
प्रतियोगिताको राखेपका उपाध्यक्ष समेत रहेका नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे।
सुरुको दिन महिलातर्फ क्वाटरफाइनल तथा पुरुषमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ। महिलाको क्वबटरफाइनलमा प्राइम ‘ए’ ले प्राइम ‘सी’, आर्मीले रातो बंगला, साइपाल ‘बी’ ले साइपाल ‘ए’ तथा प्राइम ‘डि’ ले प्राइम ‘बी’ संग प्रतिस्पर्धा गर्नेछन्।
पुरुषको प्रिक्वाटरफाइनल गोल्डेनगेट ‘सी’ र भनिमण्डल ‘ए’, गोल्डेनगेट ‘बी’ र टाइम्स, गोल्फुटार र आर्मी ‘बी’, साउथ साइडर्स ‘सी’ र नयाँ बजार ‘ए’, हिमालयन हौन्ड्स ‘ए’ र बीएमके, साउथ साइडर्स ‘ए’ र यु–१६ ‘बी’, गोल्डेनगेट ‘ए’ र साउथ साइडर्स ‘बी’ तथा हिमालयन हौन्ड्स ‘बी’ आर्मी ‘ए’ बीच हुनेछ।
आइतबार सम्पन्न हुने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ गरी ६० टिम सहभागी छन्। पुरुषको विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। महिलामा पहिलो हुनेलाई ३० हजार र दोश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ। दुवै समूहका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।