राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरणा कोइरालाले प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्स उपाधि शनिबार जितेका छन्। संरक्षक ब्वाइज र प्रेरणा गल्र्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण जितेका हुन्।
ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन पुगे। पहिलो सेट प्रणवले ६–१ र दोश्रो सेट संरक्षकले ६–३ ले आफ्नो पक्षमा पारेका थिए। यसअघि संरक्षक यु–१८ सिंगल्समा पनि च्याम्पियन बनेका थिए।
सातदोबाटोमा भएको गल्र्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१ र ६–३ ले सहजै हराउदै दोहोरो स्वर्ण चुमिन्। यु–१४ गल्र्स सिंगल्स फाइनलमा पनि प्रेरणाले सलोनीलाई नै हराउदै पहिलो स्वर्ण जितेकी थिइन्।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेरसमूहको ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा भएको थियो। यसअघि यु–८ को ब्वाइजमा बोरिस अधिकारी र गल्र्समा समृद्धि महर्जन, यु–९ ब्वाइजमा आयुशमानहजुर घले र गल्र्समा प्रशंसा मोक्तान, यु–१० ब्वाइजमा आरभसम्राट हाडा र गल्र्समा प्रशंसा मोक्तान, यु–१२ ब्वाइजमा आर्यन गिरी र गल्र्समा रायना शाह, यु–१४ ब्वाइजमा सम्यकभूषण वज्राचार्य तथा यु–१८ गल्र्समा राष्ट्रिय च्याम्पियन मायांका राणाले पहिलो स्थान हात पारेका थिए।
विजेतालाई लनटेनिस संघका पूर्व अध्यक्ष हेमबहादुर लामा, आयोजक संघका सचिव मालिका राणा बस्नेत, सदस्यद्वय अजय विष्ट र ज्ञानेन्द्र खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। आठदिने प्रतियोगितामा ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।