नेइमारलाई आफ्नो क्लबमा राख्न हरसम्भव प्रयास गरेको बार्सिलोनाले विहिबार नेइमारका वकिलले क्लबको बैक खातामा दाखिला गर्न लागेको रकम लिन अस्विकार गरेको छ। १० महिनाअघि बार्सिलोनासँग थप ५ वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका नेइमार ‘रिलिज क्लज’ अन्तर्गत शुक्रवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) मा २६ अर्ब ८६ करोडमा आवद्ध भएका छन्।
बार्सिलोना छोड्नु पूर्व ‘रिलिज क्लज’ अन्तर्गत नेइमारले क्लबलाई क्षतिपूर्तीबापत रकम बुझाउनु पर्ने थियो। नेइमारले बुधबार बार्सिलोनाको ट्रेनिङ सत्रका पुगेर प्रशिक्षक इर्नेस्टो भालभेर्डेसँग क्लब छोड्ने अनुमति मागेका थिए।
यसपछि रकम बुझाउन उनका वकिल क्लब पुगेका थिए। तर, क्लबले नेइमारले नै रकम दाखिला गर्नु पर्ने भन्दै वकिलबाट रकम लिन अस्विकार गरेको हो। स्पेनिस फुटबलमा ‘रिलिज क्लज’ अन्तर्गत क्लब छोड्न चाहने खेलाडीले आफैले क्लबमा रकम दाखिला गर्नु पर्ने नियम छ। खेलाडीले रकम दाखिला नगरेसम्म यो नियम लागु भएको मानिने छैन्।
नेइमारको स्थानान्तरणको विषयमा पिएसजीले आर्थिक पारदर्शीता ‘फाइनान्सियल फेयर प्ले (एफएफपी)’ को उलङ्घन गरेको आरोप बार्सिलोनाले लगाएको छ। त्यसैले उसले युरोपेली फुटबल महासंघ (युएफा) समक्ष यसको गम्भीर रुपमा छानवीन गर्न आग्रह गर्ने बताएको छ।
पिएसजीले भने ला लिगा क्लब कानुन विपरित बहाना बनाइरहेकाे अाराेप लगाएकाे छ। उसले ‘आश्चर्य पार्ने तर्क’ भन्दै आफू पनि फिफाको कानुनसँग बाँधिएको स्पष्ट पारेको छ।
एफएफपी नियम २०११–१२ देखि लागु भएको हो। यो नियमअनुसार क्लबले कुनै पनि खेलाडी अनुबन्धित गर्न क्लबको आयभन्दा ३ अर्ब ६३ करोड मात्र बढि रकम खर्चिन पाउने छ। पिएसजी क्लबलाई गल्फ देश कतारको शाही परिवारको सदस्यले आर्थिकरुपमा सहयोग गरिरहेका छन्। ला लिगा अध्यक्ष जाभियर टेबासले पनि फ्रेन्च क्लबले आर्थिक गडबडी ‘फाइनान्सियल डोपिङ’ गरेको आरोप लगाएका छन्।
पिएसजी यसै वर्ष फोर्बसको सूचीमा पहिलो पल्ट अटाउन सफल भएको थियो। जसअनुसार यो क्लब विश्वको ११ औं महंगो फुटबल क्लबमा पर्छ। नेइमारलाई भित्र्याउन उसले खर्चिएको रकम विश्वको सबैभन्दा धनी फुटबल क्लब रियल म्याड्रिडले महंगो रकममा भित्र्याएको ६ खेलाडीमध्ये ५ खेलाडी बराबरको रकम हो।
यस्तै, विश्वको अर्को महंगो क्लब म्यानचेस्टर युनाइटेडले गत वर्ष पाउल पोग्बालाई युभेन्ट्सबाट भित्र्याउँदा तिरेको रकमको तुलनामा नेइमारलाई पिएसजीले दोहोरोभन्दा बढि रकम खर्चेकाे छ।