क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) की दीक्षा तामाङले नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा दीक्षाले प्राइमकी निकिता कस्तीलाई ११–५ र ११–७ को सोझो सेटमा पराजित गरिन्। महिला टिम स्पर्धामा विजेश्वरीले आरुणीलाई ३–० ले हराउदै स्वर्ण जित्यो।
स्कुलतर्फ यु–१६ ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली पहिलो भए। उनले फाइनलमा आफ्नै स्कुलका सन्जिव गुरुङको चुनौती १७–१५, ११–५ र ११–७ ले समाप्त पारे। यु–१२ ब्वाइज सिंगल्समा पहिलो बन्न सफल पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका विशाल गोलेलाई १३–११, ६–११, ११–८, ७–११ र ११–८ को सोझो सेटमा पाखा लगाए। यु–१४ ब्वाइज सिंगल्समा प्रोक्सिमाका रेखन तामाङले बाजी मारे। फाइनलमा उनले एभीएमका सुजन बडाललाई १२–१०, ११–१३, १५–१३ र ११–८ ले निराश पारे।
स्कुलकै ब्वाइज डबल्समा श्रृजना ज्ञान सागरका विकिन पोखरेल र प्रवीण सापकोटाको जोडी पहिलो भए। उक्त जोडीले फाइनलमा प्रिमियरका हिमान्शु सिंह र आर्यमान प्रधानलाई १६–१४ र ११–४ को सोझो सेटमा पन्छाए।