पाकिस्तानी क्रिकेटका महान अलराउन्डर इमरान खानमाथी यौन उत्पीडनको आरोप लागेको छ। इमरान पाकिस्तानको विपक्षी दल तहरीक–ए–इन्साफका अध्यक्ष पनि हुन्। भ्रष्टाचारको अभियोगमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राजीनामा गरेपछि इमरानको सम्भावनालाई लिएर चर्चा चलिरहेको बेला उनीमाथि आरोप लागेको हो।
इमरानलाई उनकै पार्टीकी महिला नेता आयशा गुलालईले यौन उत्पीडनको आरोप लगाएकी हुन्। कबायली क्षेत्र दक्षिण वजिरिस्तानबाट प्रतिनिधित्व गर्ने आयशाले पत्रकार सम्मेलन गर्दै इमरानका कारण पार्टीमा कुनै महिला कार्यकर्ता सुरक्षित नरहेको आरोप लगाइन्।
उनी दक्षिणी वजिरिस्तानकी एमएनए पनि हुन्। उनले इमरानको यौन शोषणका कारण आफूले पार्टी छोड्ने घोषणा गरेपनि एमएनए पदबाट राजीनामा नगर्ने स्पष्ट पारिन्।
‘एमएनएको पद मलाई स्थानीय जनताले दिएका हुन्। त्यसैले म यो पद छोड्दिन,’ उनले भनिन्।
आयशाले इमरानको तुलना पिचाससँग गरिन्। ‘तहरीक ए इन्साफको वातावरण दूर्षित छ। इमरान खान मलाई र पार्टीका अन्य महिला नेतालाई अश्लिल म्यासेज पठाउने गर्थे। म केही दिनदेखि उनको हर्कत सहेर बसेको थिए,’ उनले भनिन्।
उनले इमरानलाई मानसिक रुपमा बिरामी पनि रहेको आरोप लगाइन्। उनले इमरानलाई चरित्रहीनको संज्ञा दिइन्।