अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने अखिल नेपाल टेबलटेनिस संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। स्व. पूर्णमान तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत टेबल टेनिसको मिक्स डबल्सका रजत विजेता समेत रहेका धर्ममानका पिता हुन्।
प्रतियोगिताअन्तर्गत खुलामा २, कलेजमा ४, स्कुलमा ८, खेलकुद पत्रकारमा २, दृष्टिविहीनमा २, शारीरिक अपाङ्गमा ४ तथा भेट्रानमा ४ स्पर्धामा भिडन्त हुनेछ।
खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ। त्यसमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुने एकले ५ हजार नगद पुरस्कार पाउनेछन्। बाँकीमा नगद पुरस्कार राखिएको छैन। २ सय ६० खेलाडीले भाग लिने बताइएको छ।
प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्। प्रतियोगिता साउन २१ गतेसम्म चल्नेछ।