सरकारले खेलकूद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १५ दिनभित्र खेलकूद विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए।
उनले १ वर्षभित्रै हेटौंडाको गौरीटारमा खेलकूद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे।
बुधबार नेपाल खेलकूद विज्ञान प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्दै सदस्य सचिव विष्टले खेलकूद क्षेत्रका विज्ञहरूलाई सरकारले विश्वविद्यालयको प्रोफेसर बन्ने अवसर प्रदान गर्न लागेको पनि बताए।
सदस्य सचिव विष्टले सबै प्रदेशमा खेलकूद विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना पनि अघि सारे। उनले मुलुकको विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि पनि खेलकूद क्षेत्रको विकासको आवश्यकता रहेको पनि स्मरण गराए।